धनगढी, ८ फागुन / धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलाको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका छन्। एक हजार भन्दा बढी युवालाई सीप सिकाउने उद्देश्यले सुरु गरिएको उक्त रोजगार मेला आजदेखि सुरु भएको छ।
सीप तथा रोजगार मेलाको उद्घाटनपछि मन्त्री भण्डारीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने “विकास हुन नसक्नुको कारण हामी आफै हो । नेपालका कलकारखाना उद्योग बन्द हुने अवस्थामा पुगाउनुमा उपभोक्ताको सबैभन्दा ठूलो भूमिका रहेको देखिन्छ। हामी सधैँ नेपालमा उद्योग कलकारखाना खुलेनन् भनेर आलोचना, नारा जुलुस गरिरहन्छौँ; तर नेपालमै उत्पादन भएका सामग्रीहरू प्रयोग गरि दिँदैनौँ। यसरी नेपाली उद्योग कसरी टिक्न सक्छ र बच्न सक्छ यसमा सबैले गम्भीर हुनुपर्ने बताए।
साथै मन्त्री भण्डारीले अहिले नेपालमा लगानी कर्ताहरू समेत लगानी गर्न डराएको बताए । जबसम्म हामी सबैले स्वदेशी उत्पादनलाई बढी प्राथमिकता दिँदैनौँ,तबसम्म नेपाली उद्योगको दिशा र दासा परिवर्तन हुन्छ जस्तो लाग्दैन। त्यसैले समयमै हामी सबैले यस विषयलाई गम्भीर रुपमा लिनु आवश्यक देखिन्छ।
मन्त्री भण्डारीले थप्दै भने, हाम्रो देशको कानुन पनि विकासका कार्यलाई न्याय गर्न नसक्ने देखिन्छ। सानासाना रूखका बुटाहरुलाई काट्न स्थानीय तहबाट केन्द्रसम्म धाउनु पर्छ। यसरी कहिले परिवर्तन हुन्छ । हाम्रो शैली र व्यवस्था परिवर्तन गर्नु अति आवश्यक रहेको बताए । साथै भ्रष्टाचारलाई शून्य गर्नको लागि एकमात्र उत्तम उपाय डिजिटल प्रविधिको प्रयोग गरेर डिजिटल मैत्री बन्नु सक्नु पर्नेमा जोड दिए ।