धनगढी, ७ फागुन / आज जाहानीया राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको दिन अर्थात् फागुन ७ गते। प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस्तै धनगढीमा पनि विभिन्न संगठनले, संस्थाहरूले पनि प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम सँगै दीप प्रज्वलन गरी प्रजातन्त्र दिवस मनाएका छन्।
नेपाल विद्यार्थी सङ्घ धनगढी कार्यसमितिले पनि प्रजातन्त्र दिवसको अवसरमा धनगढीको सहिद गेटमा दीप प्रज्वलन गरी प्रजातन्त्र दिवस मनाएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप ओडको प्रमुख आतिथ्यतामा तथा अन्य केन्द्रीय सदस्य र नेविसङ्घका पदाधिकारीहरूको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम गरेको हो।
नेवी संघले गरेको दीप प्रज्लन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य नृप ओडले “विगतदेखि नेपाली कांग्रेस बलियो भएको नेपाल विद्यार्थी संगठन र तरुण दलले गर्दा नै हो। अझै पनि कांग्रेसलाई बलियो बनाउन नेवी संघले पिल्लरको काम गर्नुपर्ने देखिएको छ। देशको प्रजातन्त्रवादी पार्टी भनेकै नेपाली कांग्रेस भएकाले परिवर्तन, सुधार गर्न सक्ने पनि नेपाली कांग्रेसले नै भएकाले हामी सबैले एक ढिक्का भएर अगाडि बढ्नुपर्ने देखिन्छ भने”।
साथै चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघले बलियो प्रतिस्पर्धा गरेर कैलाली जिल्लामा आफ्नो पकड बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमको सभापतित्व ग्रहण गरेका नेपाल विद्यार्थी सङ्घ धनगढी नगर कार्यसमितिका सभापति दिपेश बोहराले नेपाल विद्यार्थी संगठनले विगतदेखि यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि राष्ट्रिय कार्यक्रमसँगै विद्यार्थीका हकहितका लागि सदैव प्रतिबद्ध रहेको समेत बताए।
दीप प्रज्वलन कार्यक्रमलाई औपचारिक रूपमा सञ्चालन नेपाल विद्यार्थी सङ्घ धनगढी नगर कार्यसमितिका सचिव कमल एडीले गरेका थिए।