धनगढी,६ फागुन । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले प्राथमिकताका आधारमा विकास निर्माणको काम गरिरहेको बताएका छन् । कैलारी गाउँपालिका–२ उजलीसेमरमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहले विकास निर्माणको पहिचान गर्न आवश्यक रहेको बताए ।
उनले भने ‘बढीभन्दा बढी जनता जोडिने र प्रतिफल दिने कार्यका लागि हामी एक ठाउँमा हुनुपर्दछ ।’ प्रदेश सरकारले शैक्षिक क्षेत्रमा सुधारको प्रयास गरिरहेको उनको भनाइ थियो । सरकारले बजेट निर्माण गर्ने बेलामा शिक्षण क्षेत्रको संरचना निर्माणका लागि थुप्रै माग आउने गरेको उल्लेख गर्दै उनले सरकारले आवश्यकता र प्राथमिकताका आधारमा बजेट दिने गरेको बताए । उनले भने ‘आवश्यकता कहाँनिर छ, तत्काल हामीले सम्बोधन गर्नु पर्ने कुन हो रु विद्यार्थी, शिक्षकको चाप, पठनपाठनको स्तर हेरेर सरकारले बजेट दिने गरेको छ ।’
मुख्यमन्त्री शाहले प्रदेश सरकार एउटा मापदण्ड बनाएर अगाडि बढेको उल्लेख गरे । सीमित स्रोत, साधनको बिच राज्यले शैक्षिक क्षेत्रको निरन्तर विकास गरिरहेको उनको भनाइ थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति टीकादेवी चौधरी भुल रहेकी थिइन । कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी लगायतले मन्तब्य राखेका थिए ।