धनगढी १ फागुन — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलालीको चुरे गाउँपालिका जिल्लामा १३औं स्थानमा परेको छ। आयोगले प्रकाशित विवरणअनुसार चुरेले ३९.२ अंक प्राप्त गर्दै जिल्लाका अन्य स्थानीय तहभन्दा कमजोर प्रदर्शन गरेको देखिएको छ।
आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा धनगढी उपमहानगरपालिका ६३.३ अंकसहित पहिलो स्थानमा रहेको छ। त्यसैगरी, जानकी गाउँपालिका ६३.१ अंकसहित दोस्रो, बर्दगोरिया गाउँपालिका ६२.७ अंकसहित तेस्रो, र घोडाघोडी नगरपालिका ६१.७ अंकसहित चौथो स्थानमा रहेका छन्।
५८.७ अंकसहित गोदावरी नगरपालिका पाँचौँ स्थानमा परेको छ भने कैलारी गाउँपालिका ५४.६ अंकसहित छैटौँ स्थानमा छ। टीकापुर नगरपालिका (५२.७), जोशीपुर गाउँपालिका (५०.४), गौरीगंगा नगरपालिका (४७.१) र भजनी नगरपालिका (४७.१) क्रमशः सातौँदेखि दशौँ स्थानमा रहेका छन्।
त्यसैगरी, लम्की चुहा नगरपालिका (४४.४) ११औं स्थानमा, मोहन्याल गाउँपालिका (४०.५) १२औं स्थानमा, र चुरे गाउँपालिका ३९.२ अंकसहित अन्तिम स्थानमा परेको छ।
आयोगले माघ ३० गते सार्वजनिक गरेको मूल्यांकनमा प्रदेश सरकार तथा स्थानीय तहहरूले प्राप्त गरेको अंक समावेश गरिएको थियो। मूल्यांकनप्रति असन्तुष्टि भए आवश्यक प्रमाणसहित ७ दिनभित्र पुनरावलोकनका लागि उजुरी दिन सकिने आयोगले जनाएको छ।
