धनगढी ,२८ माघ / धनगढी उपमहानगरपालिकाको आयोजना र नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा सुरक्षित आप्रवासन सम्बन्धी पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ। दिनदिनै वैदेशिक पलायन हुनेको सङ्ख्या बढिरहेको अवस्थामा सुरक्षित भएर कसरी वैदेशिक रोजगारीमा जान सकिन्छ भन्ने जानकारी समाजमा प्रवाह गर्ने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो।
“स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर सिप सिकेर मात्र जाऔँ ” भन्ने मूल विचारलाई आत्मसाथ गर्दै अन्तरक्रियामा वैदेशिक पलायन हुँदै गर्दाका चुनौतीहरुको सामना कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गरिएको थियो।
कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशगत श्रम स्वीकृतिको अवस्था ,पुनः स्वीकृतिको अवस्था, श्रम स्वीकृतिको आधारमा सीप तथा दक्षताको वर्गीकरण , वैदेशिक रोजगारीमा पलायन हुने पुरुष र महिलाको संख्या, विप्रेषण प्रवाह वैदेशिक रोजगारीबाट उत्पन्न जटिलता र ती जटिलतालाई समाधान गर्ने सरोकारवाला निकायको बारेमा पत्रकारहरुलाई धनगढी उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख टंक बिष्टले जानकारी दिएका थिए।
कार्यक्रममा रोजगार शाखा धनगढीका कर्मचारी र पत्रकारहरूको उपस्थिति रहेको थियो।