धनगढी, २६ माघ / युवा व्यवसायी तथा सामाजिक अभियन्ता विशाल भट्टले सुर्नया गाउँपालिका भित्रका विद्यालयहरूमा खेलाडीका जर्सी वितरण गरेका छन्। गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका विद्यार्थी खेलाडीका लागि भट्टले सबै विद्यालयमा गरी ७० सेट जर्सी वितरण गरेका हुन्।
खेल क्षेत्रको विकास गर्न खेलाडीलाई र विद्यालयहरूलाई थप प्रोत्साहन गर्नको लागि धनगढीमा बिजी गार्मेन्ट चलाउँदै आएका भट्टले गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको पूर्व सन्ध्यामा विद्यालयहरूलाई जर्सी वितरण गरेको बताए। राष्ट्रपति रनिङ शिल्डमा १३ वटा विद्यालयहरुको सहभागिता रहेकोमा उदयदेव माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, रौलेश्वर माध्यमिक विद्यालय, बासुदेव माध्यमिक विद्यालय र भुवनेश्वर माध्यमिक विद्यालयका खेलाडीहरुका लागि ७० सेट जर्सी युवा व्यवसायी तथा सामाजिक अभियन्ता भट्टले वितरण गरेका थिए।
खेल क्षेत्रको विकास गर्नको लागि खेलाडीहरूलाई विद्यालय स्तरबाटै प्रोत्साहन गर्न सके अझ थप प्रभावकारी हुने भएकाले पनि आफूले जर्सी वितरण गरेर केही हदसम्म भएपनि खेल क्षेत्रलाई सहयोग गर्न खोजेको भट्टको भनाइ रहेको छ।
भट्ट सामाजिक कार्यहरूमा बाल क्लब, युवा क्लब हुँदै संलग्न भइरहेका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व निर्वहन गर्दै विगतका वर्षहरूमा पनि विभिन्न सामग्रीहरू वितरण गर्दै आएका छन्।