काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरका आरक्षविस्थापितहरूको समस्या समाधान गर्न पुनः नापी गरेर जग्गाको व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको पाँचौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारले गठन गरेको समितिको सुझावअनुसार पुनः नापी गरी समस्या समाधान गर्नुपर्ने बताए।
उनका अनुसार, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका दुईवटा समितिले समाधानको उपाय दिन नसकेपछि मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा अर्को समिति गठन गरिएको थियो। उक्त समितिले विस्तृत नापजाँच तथा फिल्ड निरीक्षण गरी सर्वसम्मत प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।
‘साविकको नापी बदर गरी चक्लाबन्दी वा एकीकृत विकासको दृष्टिकोणले पुनः नापी गरेर समस्या समाधान गर्नुपर्ने सुझाव समितिले दिएको छ,’ साउदले भने, ‘म सम्मानित सदनमार्फत् प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गर्दछु।’
सांसद साउदका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७, ९, र १० मा आरक्ष विस्तारका लागि जंगल फडानी गरी आरक्षपीडित र सुकुम्बासीलाई जग्गा वितरण गरिएको थियो। ती वडामा हाल करिब १,२०० घरपरिवार रहेको उनले जानकारी दिए।
‘कतिपय स्थानमा स्थलगत निरीक्षण नगरी कित्ताकाट गरिँदा फिल्डमा वास्तविक स्वामित्व र लालपुर्जामा देखिएको स्वामित्व फरक परेपछि बिक्री, वितरण र नियन्त्रणमा गम्भीर विवाद उत्पन्न भएको थियो,’ उनले भने, ‘समस्या समाधानका लागि गठित अघिल्ला समितिहरू प्रभावकारी नभएपछि मन्त्रालयस्तरीय समितिले विस्तृत नापजाँच गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।’