धनगढी ,२३ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा सूचीकृत बेरोजगार युवाहरूलाई लक्षित गरी डकर्मी तथा सडक मर्मत सम्भार सम्बन्धी ५० दिने तालिम सुरु गरिएको छ। सेवा प्रदायक संस्था बिसिटिसि महेन्द्रनगरको व्यवस्थापनमा सञ्चालन भइरहेको तालिम प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक सहयोगमा आयोजना गरिएको हो।
रोजगार सेवा केन्द्र, पुनर्वास नगरपालिकाको आयोजनामा सञ्चालन भएको तालिममा नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०र ११ का ४० जना महिला तथा पुरुष सहभागी छन्। उनीहरूलाई ५० दिन तालिम दिइनेछ भने थप ५० दिन सार्वजनिक निर्माणका काममा संलग्न गराइनेछ। तालिममा सहभागीलाई १०० दिनको ज्याला समेत प्रदान गरिने रोजगार सेवा केन्द्र पुनर्वासकी संयाेजक सुशीला देउवा बमले जानकारी दिइन्।
कार्यक्रमको उद्घाटन पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बिसिटिसि महेन्द्रनगरका निर्देशक मनोज चन्दको उपस्थिति रहेको थियो।