बाजुरा, ३ माघ / डिभिजन वन कार्यालय बाजुराका निमित्त प्रमुख सुरेश चन्द्र डिसीको अर्धनग्न अवस्थाको तस्बिर र घुस लिँदै गरेको जस्तो देखिने फोटो सार्वजनिक भएको छ। सो तस्बिर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले उनलाई स्पष्टीकरण सोधेको छ। सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरमा निजामती कर्मचारी आचरण विपरीत गतिविधि देखिएको भन्दै निर्देशनालयले सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न भनेको छ।
हालै सार्वजनिक तस्बिरमा डिसी मापसे गर्दै अर्धनग्न अवस्थामा युवतीसँग देखिएका छन्।अर्को तस्बिरमा घुस लिँदै गरेको जस्तो देखिएको छ। डिसीलाई निजामती सेवा ऐन, २०७९ र सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली, २०८१ अनुसार विभागीय कारबाही नगर्नुपर्ने आधार पेश गर्न निर्देशन दिइएको छ। निर्देशनालयका निर्देशक हेमराज बिष्टले सो स्पष्टीकरण पत्र मन्त्रालयमा पनि बोधार्थ पठाएका छन्।
डिसी यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा डोटीमा सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका थिए। ५ लाख ६० हजार घुस मागेको आरोपमा आयोगले ३ लाख २६ हजार नगदसहित पक्राउ गरी मुद्दा दायर गरेको थियो। यो घटनाले निजामती सेवा आचरण र विश्वासमाथि प्रश्न उठाएको छ।