धनगढी, २ माघ / कैलालीमा १४ वर्षभित्रका किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाइने भएको छ । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो । किशोरीहरूलाई विद्यालयमै पुगेर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा सँग समन्वय गरी खोप अभियान चलाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए । उनले खोप अभियान अन्तर्गत जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने बताए । महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनु पर्ने हुन्छ । त्यसका लागि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।