धनगढी,८ मंसिर । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि दुई विपक्षीदलबिच मिलेर जाने सहमति भएको छ । केन्द्रिय समीकरण बिपरित नेकपा एमाले र नेकपा माओवादी एक देखिएका छन । जवकी अहिले संघ र प्रदेशमा एमाले कांग्रेसको गठबन्धनको सरकार छ ।
माओवादीको गाउँ कमिटीले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय नै गरेर एमालेको चुनावी प्रचारमा होमिएको छ । पालिका उपाध्यक्ष पदका लागि हुने उपचुनावमा माओवादीबाट राजुकुमारी विश्वकर्माको उम्मेदवारी परेको भएपछि फिर्ता लिइएको छ ।
माओवादीबाट उम्मेदवार बनेकी राजुकुमारी विश्वकर्माले उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई समर्थन दिएकी छिन । ‘हामीले एक्लै लडेर जित्न सक्ने अवस्था थिएन । त्यसैले पालिका कमिटीका नेताहरू बसेर एमालेसँग कुराकानी गर्यौ’, बाजुरा माओवादीका सचिव रमेश विक साहसीले भने ‘२०८४ को चुनावमा सहकार्य गर्नेगरी एमालेको उम्मेदवारलाई हामीले समर्थन गरेका छौं ।’
पार्टी केन्द्रले स्थानीय अवस्थाको कुनै मूल्याकंन नगरी सत्तारुढसँग सहकार्य गर्न नहुने निर्णय गरेकाले आफूहरू विद्रोह गर्न बाध्य भएको उनी बताउँछन् । ‘एक जना पनि केन्द्रीय नेता अहिलेसम्म यो पालिकामा नआउने अनि वास्तविकता नबुझी निर्णय गरेकाले हाम्रो विद्रोह पनि हो,’ जिल्ला सचिव विकले भने ।
उनका अनुसार २०८४ मा एमाले र माओवादीबीच सहकार्य हुने भएको छ । सहकार्य गर्दा माओवादीले पालिका उपाध्यक्ष, एक जना वडाध्यक्ष, एक जना कार्यपालिका सदस्य र चार जना वडा सदस्य पाउनेछन् । बाँकी पद एमालेले लिनेगरी स्थानीय नेताहरूले लिखित प्रतिबद्धता गरेका छन् ।
तर, पार्टीको निर्देशन विपरीत उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गर्ने निर्णयप्रति माओवादी बाजुराका संयोजक देवीचन्द्र बूढाले आपत्ति जनाएका छन् । वक्तव्य मार्फत् उनले उम्मेदवारी फिर्ता लिने निर्णयप्रति ध्यानाकर्षण सहित आवश्यक कारबाहीको चेतावनी दिएका छन् ।