कञ्चनपुर, २८ असोज / भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ।
भत्किएको झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार थारूको शव रहेको स्थान पहिचान भइसकेको छ। तार तान्ने क्रममा उनी त्यहीँ अड्किएको हुन सक्ने उनले बताए।
दुई साताअघि दोधाराचाँदनी जोड्ने झोलुंगे पुल भत्किएको थियो। पुल भत्किएसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो। सोही तार तान्ने क्रममा डुंगा अनियन्त्रित हुँदा थारू महाकाली नदीमा बेपत्ता भएका थिए।