बैतडी, १० असोज / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीमा सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट बैतडी मेलौलीकी २१ वर्षीया सरिता भट्ट महिला तथा युवा समूहबाट प्रदेश प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै भट्टलाई प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन गरिएको हो। विद्यार्थी जीवनदेखि नै नेतृत्व तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी भट्टको यो राजनीतिक यात्रालाई युवा पुस्ताको सक्रिय सहभागितासँग जोडेर हेरिएको छ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत भट्ट यसअघि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिँदै सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएकी थिइन्। विद्यार्थी नेतृत्वमा सक्रिय रहँदै आएकी उनले क्याम्पसका विद्यार्थीका शैक्षिक, सामाजिक तथा विभिन्न विद्यार्थीसम्बन्धी विषयमा आवाज उठाउँदै आएकी छन्।
क्याम्पसमा अध्ययनसँगै विद्यार्थी नेतृत्वबाट राजनीतिक तथा सामाजिक क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै आएकी भट्ट अहिले २१ वर्षकै उमेरमा नेपाली कांग्रेसको महाधिवेशन प्रक्रियाअन्तर्गत प्रदेश प्रतिनिधिको जिम्मेवारीमा पुगेकी हुन्।
उनले प्राप्त जिम्मेवारीलाई अवसर मात्र नभई महत्वपूर्ण जिम्मेवारीका रूपमा लिँदै युवा तथा महिलाको आवाजलाई पार्टीभित्र थप प्रभावकारी रूपमा उठाउने बताएकी छन्।