अछाम, २ असोज / महिला तथा सीमान्तकृत समुदायको स्वास्थ्य सेवा र स्थानीय सरकारका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले अछाम र बाजुरामा सञ्चालित S2GESI परियोजनाको अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ।
GIZ र सामुदायिक विकास केन्द्र (CDC) को सहकार्यमा पञ्चदेवल विनायक नगरपालिका अछाम र त्रिवेणी नगरपालिका बाजुरामा सञ्चालित परियोजनाको समीक्षा बुधबार साफेबगरमा गरिएको हो।
समीक्षामा परियोजनाले हालसम्म गरेका गतिविधि, प्राप्त उपलब्धि, भएका असल अभ्यास र आगामी योजनाबारे छलफल गरिएको थियो। आगामी दिनमा पालिकाका नीति तथा कार्यक्रम र परियोजनाका प्राथमिकताअनुसार थप प्रभावकारी रूपमा सहकार्य गर्ने सहमति भएको छ।
कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने र त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा परियोजनाले पालिकालाई सहयोग गरिरहेको बताउनुभयो। उहाँहरूले आगामी दिनमा पनि आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमराज जोशीले स्थानीय सरकारका प्राथमिकता, ऐन, नियम तथा कार्यविधिअनुसार पालिकासँग थप समन्वय गरेर कार्यक्रम अघि बढाइने बताउनुभयो।
समीक्षामा CDC की कार्यक्रम संयोजक कमला बिष्ट र GIZ की प्रकृति पन्तले परियोजनाका हालसम्मका गतिविधि तथा आगामी योजनाबारे प्रस्तुति राख्नुभएको थियो।
कार्यक्रममा दुवै पालिकाका बहुक्षेत्रीय समन्वय समितिका प्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख तथा पत्रकार महासंघ अछामका अध्यक्षको सहभागिता रहेको थियो।