धनगढी, २ असोज / कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बाल अधिकार संरक्षणका लागि भूगोल र ठाउँअनुसार नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताएका छन्।
धनगढीमा असोज २ गते आयोजित ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नारासहितको बाल संरक्षणका सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले एउटै नीति तथा नियम सबै ठाउँमा समान रूपमा लागू गर्न कठिन हुने बताएका हुन्।
उनले ठाउँ र भौगोलिक अवस्थाअनुसार बालबालिकाका समस्या फरक हुने भएकाले सोहीअनुसार कार्यक्रम तथा नीति निर्माण गर्नुपर्ने बताए। बाल अधिकार संरक्षणका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले मिलेर काम गरेमा बाल अधिकार संरक्षणको कामलाई थप सहज बनाउन सकिने बताए।
कार्यक्रममा बाल संरक्षणसँग सम्बन्धित वर्तमान नीति तथा नियम, यसको कार्यान्वयनको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, बाल सञ्जालका प्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बालबालिकालाई राष्ट्रिय गौरवका रूपमा लिँदै उनीहरूको अधिकार संरक्षण, सुरक्षा र भविष्य सुनिश्चित गर्न सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रम यार्ड र सिविन नेपालको आयोजनामा गरिएको हो।