कञ्चनपुर,१ असोज / रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएको बेलौरीका २६ जनाको अवस्था अझै अज्ञात रहेको छ । कामको सिलसिलामा रसुवा गएका कञ्चनपुरका २६ जनाको अवस्था तीन साता बितिसक्दा पनि अज्ञात रहेको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार यहाँका छ स्थानीय तहमा घर भएका २६ जना अझै रसुवा बाढीपछि बेपत्ता छन् । बेपत्तामध्ये सबैभन्दा बढी भीमदत्त नगरपालिकाका आठ जना, छ जना शुक्लाफाँटा नगरपालिकाका, पाँच जना कृष्णपुर नगरपालिकाका, तीन÷तीन जना वेदकोट र बेलौरी नगरपालिका तथा एक जना लालझाडी गाउँपालिकाका पुरुष बेपत्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धर्मराज उपाध्यायले बेपत्ताको डिएनए परीक्षणका लागि परिवारका सदस्यबाट नमुना सङ्कलन गरिएको बताएका छन् । महाकाली प्रादेशिक अस्पतालबाट बेपत्ता परिवारका सदस्यको नमुना सङ्कलन गरिएको सूचना अधिकारी उपाध्यायले बताए । सङ्कलित नमुना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाइएको छ । जिल्लाबाट २२ वर्ष उमेर समूहदेखि ५५ वर्ष उमेरसम्मका कामदार बेपत्ता भएका छन् ।
बेपत्ता परिवारका सदस्यले जीवित नभए मृत शरीर खोज्न सरकारसँग आग्रह गरेका छन् । कतिपय बेपत्ता परिवारका सदस्यले अब भने उनीहरूलाई भेट्टाउने आस पनि मरेको बताएका छन् ।