बैतडी,३१ भदौ / तोकिएको समयमा सडक निर्माण तथा मर्मतको काम पूरा नगर्ने बैतडीका १० वटा सडकका ठेक्का सम्झौता रद्द गरिएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन पाटनले म्याद समाप्त भइसक्दा पनि निर्माण पूरा नभएका ठेक्का सम्झौता रद्द गरेको हो ।
सडक डिभिजन कार्यालय बैतडीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) बमोजिम विभिन्न सडक आयोजनासँग सम्बन्धित ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको छ । सम्झौता रद्द गरिएका ठेक्कामध्ये सडक स्तरोन्नति तथा पुनस्र्थापनादेखि सडक सतह मर्मत, सडक संरचना मर्मत र सडक सुरक्षा कार्यसम्म रहेका छन् ।
अनारखोली–खोड्पे–पाटन सडकखण्डको सडक संरचना मर्मत, खोड्पे–बझाङ सडक अन्तर्गत खोड्पे–चैनपुर खण्डको स्तरोन्नति तथा पुनस्र्थापना, सडक मर्मत र सडक सतह मर्मतलगायतका कामका ठेक्का सम्झौता रद्द भएको सडक डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख किरण सुवेदीले जानकारी दिएका छन् ।
सुवेदीका अनुसार न्यु सहारा कन्स्ट्रक्सन अमरगढी–७, डडेलधुराको अनारखोली–खोड्पे–पाटन सडकखण्डमा सडक संरचना मर्मतसम्बन्धी ठेक्का रद्द गरिएको छ । जयलक्ष्मी निर्माण सेवा, बझाङको खोड्पे–चैनपुर सडकखण्ड स्तरोन्नति तथा पुनस्र्थापनासम्बन्धी ठेक्का पनि रद्द भएको छ ।
ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम कालो सूचीमा राख्न सिफारिस गरिने सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ । साथै सार्वजनिक खरिद ऐन अनुसार कार्यसम्पादन जमानत तथा धरौटीबापतको बाँकी रहेको रकममध्ये जमानतबापतको रकम जफत गरिने सूचनामा उल्लेख छ ।