बाजुरा,३१ भदौ / बाजुराका सम्पर्कविहीन व्यक्ति लामो समयसम्म फेला नपरेपछि उनीहरूका आफन्तले काजक्रिया गर्न थालेका छन्। सम्पर्कविहीन भएको २० दिनसम्म पनि कतै फेला नपरेपछि आफन्तले हिन्दू धर्मअनुसार काजक्रिया सुरु गरेका हुन् ।
सम्पर्कविहीन मोहनलाल रोकायाकी श्रीमती जमुना रोकायाका अनुसार उनका श्रीमान् सम्पर्कविहीन भएको २० दिन भइसकेको छ । अझैसम्म फेला नपरेपछि उनले पनि काजक्रिया गर्ने तयारी गरेका छन् ।
यता हिमाली गाउँपालिका–४, फैतीका बिसी पाण्डेलगायत सम्पर्कविहीन भएका दुई–चार जनाका आफन्तले भने काजक्रिया गरिसकेका छन्।
भोटेकोशी नदीमा आएको बाढीपछि बाजुराका १६ जना सम्पर्कविहीन भएका थिए । उनीहरू रसुवाको टिमुरेमा बसोबास तथा काम गर्दै आएका थिए । भदौ १० गते आएको बाढीपछि उनीहरू टिमुरेबाट सम्पर्कविहीन भएका हुन्।
बाढीपछि उनीहरूको अहिलेसम्म न सास न लास फेला परेको छ। सम्पर्कविहीनका आफन्तले विभिन्न ठाउँमा खोजी गरे पनि उनीहरू फेला पर्न सकेका छैनन् ।
हिमाली गाउँपालिका–६ का दीपे सार्कीकी श्रीमती मनसरी सार्कीले श्रीमान् सम्पर्कविहीन भएपछि धेरै ठाउँमा खोजी गरे पनि अहिलेसम्म न लास न सास फेला परेको बताए ।
केही दिनसम्म श्रीमान् भेटिने आशा रहे पनि धेरै ठाउँमा खोजी गर्दा नभेटिएपछि आशा निराशामा परिणत भएको उनले बताए । त्यसपछि डीएनए परीक्षण गराएको उनको भनाइ छ।
सम्पर्कविहीन भएको करिब २० दिनसम्म पनि उनीहरू फेला परेका छैनन्। सम्पर्कविहीन भएका केहीका आफन्तले डीएनए परीक्षणसमेत गराएका छन् भने केहीले काजक्रिया गरेका छन्।
सम्पर्कमा नआएका हिमाली गाउँपालिका–६ का विक्रम भण्डारीको जिल्ला अस्पताल बाजुरामा र दीपे सार्कीको काठमाडौँमा डीएनए परीक्षण गराइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए ।