धनगढी, ९ जेठ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवाका आवाज, योजना र मागहरुलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सरकार सकारात्मक रहेको बताएका छन्। धनगढीमा सुरु भएको “सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६” को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले अहिले सरकार नीति तथा कार्यक्रम निर्माणको चरणमा रहेकाले सम्मेलनबाट उठ्ने सुझाव र मागलाई विशेष प्राथमिकताका साथ समेटिने बताए।
“आजका युवाले प्रविधिको प्रयोगमार्फत नयाँ चेतना र सम्भावनाको ढोका खोलेका छन्,” उनले भने, “तर त्यही प्रविधिको दुरुपयोग र त्यसबाट सिर्जित चुनौतीले युवालाई असर गरिरहेको अवस्था पनि देखिएको छ।” उनले डिजिटल युगमा युवालाई अवसरसँगै सचेतना आवश्यक रहेको उल्लेख गरे।
मुख्यमन्त्री शाहले अहिले संघीय संसद् तथा विभिन्न तहमा युवाको प्रतिनिधित्व बढ्दै गएको उल्लेख गर्दै विगतमा युवाको क्षेत्रमा हुन नसकेका कामहरु अब क्रमशः अगाडि बढ्ने विश्वास व्यक्त गरे। युवाको सहभागिता र नेतृत्वलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
“यंग पिपुल कमिङ टुगेदर टु स्ट्रेन्थेन डिजिटल सिभिक स्पेस” भन्ने मूल नारासहित सुरु भएको दुई दिने सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाबाट युवाहरुको सहभागिता रहेको छ। सम्मेलनमा डिजिटल नागरिकता, युवा नेतृत्व, नीति निर्माणमा युवाको सहभागिता तथा नागरिक स्पेस सुदृढीकरणका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी प्रसाद खनालले बागमती प्रदेशपछि सुदूरपश्चिममा युवा सम्मेलन आयोजना गरिएको जानकारी दिए। उनले आगामी दिनमा कर्णाली प्रदेशसहित देशका अन्य प्रदेशमा पनि सम्मेलन सञ्चालन गर्दै राष्ट्रिय युवा सम्मेलन आयोजना गरिने बताए।
उनका अनुसार प्रदेश सम्मेलनबाट उठेका सुझाव, माग र निष्कर्षलाई एकीकृत गर्दै “सुदूरपश्चिम घोषणा पत्र” सार्वजनिक गरिनेछ। उक्त घोषणा पत्रमार्फत युवाका मुद्दालाई नीति निर्माण तहसम्म पुर्याउने लक्ष्य रहेको उनले बताए।
गैरसरकारी संस्था महासंघ नेपाल, युवा अभियान तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा युवा सम्मेलन-२०२६ जेठ ९ र १० गते धनगढीमा भैरहेको छ ।