धनगढी, ३ जेठ / विपद्को समयमा नसर्ने रोगबाट प्रभावित नागरिकलाई सुरक्षित राख्ने उद्देश्यसहित कैलाली र कञ्चनपुरमा सञ्चालन गरिएको “पेन–डी” अन्तर्गतको कार्यात्मक कृत्रिम घटना अभ्यास तथा सिकाइ समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उक्त अभ्यास कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिका मा जेठ १ र २ गते सञ्चालन गरिएको थियो भने जेठ ३ गते टीकापुरमा सिकाइ समीक्षा तथा समापन कार्यक्रम गरी औपचारिक रूपमा सम्पन्न गरिएको हो।
“नेपालमा विपद्को अवस्थामा नसर्ने रोग सम्बन्धी अत्यावश्यक प्रतिकार्य प्याकेज (पेन–डी)” को प्रभावकारीता परीक्षण तथा कार्यान्वयन तयारीका लागि सञ्चालन गरिएको उक्त अभ्यासमा विपद्को बेला मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायत नसर्ने रोग भएका नागरिकले भोग्नुपर्ने समस्या, औषधि अभाव, स्वास्थ्य सेवा अवरुद्ध हुने अवस्था तथा तत्काल प्रतिकार्यका विषयमा व्यवहारिक अभ्यास गरिएको थियो।
कार्यक्रमको सुरुआतदेखि नै जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसुन पूर्वानुमानलाई आधार बनाएर विभिन्न कृत्रिम घटना निर्माण गरिएको थियो। यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र तापक्रम वृद्धि हुने सम्भावनालाई आधार मानेर अति भारी वर्षा, नदीमा जलसतह वृद्धि, बाढीको जोखिम, स्वास्थ्य सेवा प्रभावित हुने अवस्था तथा होचा क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्थासम्मका घटना अभ्यासमा समावेश गरिएको थियो।
दोदा, मोहोना र कान्द्रा नदीमा जलसतह बढ्दै गएको अवस्थालाई समेत कृत्रिम रूपमा प्रस्तुत गर्दै स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायले कसरी समन्वय र प्रतिकार्य गर्ने भन्ने विषयमा अभ्यास गरिएको थियो।
परियोजनाका संयोजक प्रमोद अधिकारीका अनुसार विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरू सबैभन्दा बढी जोखिममा पर्ने भएकाले उनीहरूको उपचार, औषधि व्यवस्थापन र उद्धार प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले अभ्यास सञ्चालन गरिएको हो। “वास्तविक विपद्को बेला स्थानीय तहले छिटो र प्रभावकारी प्रतिक्रिया कसरी दिन सक्छ भन्ने विषयमा यो अभ्यास उपयोगी बनेको छ।
भर्चुअल माध्यममार्फत विभिन्न स्थानमा रहेका समूहहरूसँग समन्वय गर्दै सञ्चालन गरिएको अभ्यासले विपद् व्यवस्थापनमा बहुपक्षीय सहकार्यको आवश्यकता र प्रभावकारितालाई समेत उजागर गरेको सहभागीहरूले बताएका छन्। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाअन्तर्गत सञ्चालित नसर्ने रोग उत्थानशील परियोजनाका पालिका सहायक तपेन्द्र तिमल्सिनाले यस्तो अभ्यासले स्थानीय तहको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन सहयोग पुगेको बताए।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मिनबहादुर मल्लले “पेन–डी” परियोजनालाई थप परिष्कृत गर्दै नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्यसहित काम भइरहेको बताए। उनले विगतदेखि नै वास्तविक विपद् प्रभावित क्षेत्रलाई आधार बनाएर कृत्रिम घटना अभ्यास गर्दै त्यसलाई समयानुकूल सुधार र परिमार्जन गरिँदै आएको उल्लेख गरे।
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले विपद् व्यवस्थापनमा रेडक्रसले निरन्तर सहकार्य गर्दै आएको बताए। “विपद्को बेला जनशक्ति परिचालनदेखि व्यवस्थापनसम्म रेडक्रसको सहकार्यले स्थानीय सरकारलाई ठूलो सहजता मिलेको छ,” उनले भने। अब यो कार्यक्रमलाई आफुहरुले नीति तथा कार्यक्रममा समेत समावेश गर्ने प्रतिबद्धता गरे ।
विपद् प्रतिकार्य परियोजना कैलालीका कार्यक्रम अधिकृत मुकेश चन्द्र गौतमका अनुसार कृत्रिम घटनामार्फत आवश्यक जनशक्ति, सामग्री, आर्थिक तथा भौतिक स्रोत व्यवस्थापनको व्यवहारिक अभ्यास गरिएको हो। उनका अनुसार प्रारम्भिक घटनाबाट सुरु गरिएको अभ्यास क्रमशः जटिल बन्दै अन्तिम चरणमा विपद् नियन्त्रण र व्यवस्थापनको निष्कर्षसम्म पुगेर सम्पन्न भएको थियो।
नर्डिस्क फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित “रिजिलिएन्स एनसिडी” परियोजना डेनिस रेडक्रस, क्यानेडियन रेडक्रस, आरहुस विश्वविद्यालय तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालन गरिएको हो ।कार्यक्रममा सहभागीहरूले यस्तो अभ्यासले पश्चिम नेपालका विपद् संभावित स्थानीय तहमा नसर्ने रोगीको उपचार प्रणालीलाई थप उत्थानशील र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।