टीकापुर, २ जेठ / नेपाल रेडक्रस सोसाइटीद्वारा कैलाली र कञ्चनपुरमा सञ्चालन गरिएको विपद् प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास प्रभावकारी र उपयोगी बन्दै गएको छ। कैलालीको भजनी नगरपालिका तथा कञ्चनपुरको लालझाडी गाउँपालिकामा जेठ १ र २ गते सञ्चालन गरिएको दुई दिने अभ्यासमार्फत स्थानीय तहमा सम्भावित विपद्को सामना कसरी गर्ने भन्ने विषयमा व्यवहारिक तयारी गरिएको हो।
“नेपालमा विपद्को अवस्थामा नसर्ने रोग सम्बन्धी अत्यावश्यक प्रतिकार्य प्याकेज (पेन–डी)” को प्रभावकारीता परीक्षण तथा कार्यान्वयन तयारीका लागि गरिएको उक्त अभ्यासमा बाढी, अत्यधिक वर्षा, नदीमा जलसतह वृद्धि तथा स्वास्थ्य सेवा प्रभावित हुने अवस्थालाई आधार बनाएर विभिन्न कृत्रिम घटना सिर्जना गरिएको थियो।
भजनी नगरपालिका आधारभूत स्वास्थ्य सेवा केन्द्र मन्त्रीफाँटामा कार्यरत स्वास्थ्यकर्मी कमला बोहराले कृत्रिम घटना अभ्यासले विपद्को समयमा स्वास्थ्यकर्मीले निर्वाह गर्नुपर्ने भूमिकाबारे स्पष्ट बुझाइ दिएको बताइन्। उनले यस्तो अभ्यासले आपत्कालीन अवस्थामा सेवा प्रवाह कसरी निरन्तर राख्ने भन्ने विषयमा थप आत्मविश्वास बढाएको उल्लेख गरिन्।
नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य विभागअन्तर्गत एनसीडी परियोजनाका संयोजक अनिल महर्जनले विपद्को समयमा सबै सेवा क्षेत्र प्रभावित भए पनि आवश्यक सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ अभ्यास गरिएको जानकारी दिए। उनका अनुसार स्थानीय सरकारले विपद् आउनुभन्दा अगावै तथ्यांक संकलन, आवश्यक सामग्री व्यवस्थापन र तयारीलाई प्राथमिकता दिन आवश्यक रहेको बताए।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मिनबहादुर मल्लले “पेन्डी परियोजना” लाई थप परिष्कृत गर्दै नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्यसहित काम भइरहेको बताए। विगतदेखि नै वास्तविक विपद् प्रभावित क्षेत्रमा आधारित कृत्रिम घटना अभ्यास गर्दै त्यसलाई सुधार र परिमार्जन गर्ने काम भइरहेको उनको भनाइ छ।
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले रेडक्रसले विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताए। उनले विपद्को बेला आवश्यक जनशक्ति परिचालनदेखि व्यवस्थापनसम्म रेडक्रसको सहकार्यले स्थानीय सरकारलाई ठूलो सहजता पुगेको उल्लेख गरे।
अभ्यासका क्रममा विपद्का विभिन्न चरणलाई आधार मानेर घटना निर्माण गरिएको थियो। पहिलो चरणमा जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसुन पूर्वानुमानलाई आधार बनाइएको थियो। यस वर्ष सरदरभन्दा बढी वर्षा र तापक्रम वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिमको मूल्यांकन गरिएको थियो।
त्यसपछि क्रमशः अति भारी वर्षाको सम्भावना, लगातार वर्षा, नदीमा जलसतह वृद्धि, बाढीको जोखिम तथा होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउनुपर्ने अवस्थासम्मका घटना अभ्यासमा समेटिएका थिए। दोदा, मोहोना र कान्द्रा नदीको जलसतह बढ्दै गएको सूचनापछि स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रले कसरी प्रतिक्रिया जनाउने भन्ने विषयमा समेत अभ्यास गरिएको थियो।
विपद् प्रतिकार्य परियोजना कैलालीका कार्यक्रम अधिकृत मुकेश चन्द्र गौतमले कृत्रिम घटनामार्फत आवश्यक जनशक्ति, सामग्री, आर्थिक तथा भौतिक स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने विषय व्यवहारिक रूपमा अभ्यास गरिएको बताए। पहिलो घटनाबाट सुरु गरिएको अभ्यास क्रमशः जटिल बन्दै अन्तिम चरणमा विपद्लाई कसरी नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ भन्ने निष्कर्षसम्म पुगेर सम्पन्न गरिएको बताए।
कार्यक्रम नोभो नर्डिस्क फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन भइरहेको “रिजिलिएन्स एनसिडी” परियोजना डेनिस रेडक्रस, क्यानेडियन रेडक्रस, आरहुस विश्वविद्यालय तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालन भइरहेको छ।
कार्यक्रम दुई दिने अभ्यासको समीक्षासँगै जेठ ३ गते (भोलि) टिकापुरमा समापन गरिने परियोजना अधिकृत गौतमले वताएका छन्।