डोटी, ३० बैशाख / सुदूरपश्चिम प्रदेश सरकारका प्रकाश बहादुर बमले मोहन्याल बेताल देवताको भणार घर उद्घाटन गरेका छन् । बुधबार डोटी जिल्लाको बडिकेदार गाउँपालिका-१ अलाडीमा आयोजित एक कार्यक्रमकाबीच अर्थ राज्यमन्त्री बमले भणार घरको समुद्घाटन गरे । प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा उक्त भणार घर निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको थियो।
मोहन्याल बेताललाई कुलदेवताको रूपमा मान्ने भक्तजनहरू कुलपूजाका अवसरमा सो स्थानमा जम्मा भएर पूजा-आराधना गर्ने गर्दछन्। भणार घर निर्माणसँगै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ।
यसै क्रममा अर्थ राज्यमन्त्री बमले अलाडीस्थित महन्यालेश्वर आधारभूत विद्यालयको पनि निरीक्षण गरेका छन् । कक्षा ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल ८० जना बालबालिका छात्रावासमा बस्दै अध्ययन गरिरहेका छन्।
निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री बमले दुर्गम क्षेत्रको शिक्षा, पूर्वाधार तथा समग्र विकासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।