धनगढी, २९ वैशाख / कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिरमा सञ्चालन हुने रमाइलो मेलाको सम्झौता प्रक्रियामा मनोमानी भएको विषय सार्वजनिक भएपछि मन्दिर व्यवस्थापन समितिले अन्ततः खुला सूचना जारी गरेको छ। यसअघि सुदूरपत्र अनलाइनले “रमाइलो मेलाको सम्झौतामा मनोमानी” भएको भन्दै समाचार सम्प्रेषण गरेपछि समितिले सार्वजनिक रूपमा सूचना प्रकाशित गर्दै ठेक्का प्रक्रियालाई अघि बढाएको हो।
बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले आज सूचना जारी गर्दै धार्मिक तथा व्यापारिक मेला “बेहडाबाबा गंगा दशहरा मेला-२०८३”मा रमाइलो मेला सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई दरभाउपत्र पेश गर्न आह्वान गरेको छ।
समितिका अनुसार मेला सञ्चालनको ठेक्का न्यूनतम ११ लाख १ हजार रुपैयाँबाट सुरु गरिएको छ। सूचना अनुसार इच्छुक पक्षले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयमा आवेदन दिनुपर्नेछ। दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति २०८३ जेठ ४ गते साँझ ४ बजे सम्म तोकिएको छ।
यस्तै, कबोल रकमको निश्चित प्रतिशत धरौटीस्वरूप नगद जम्मा गर्नुपर्ने वा बैंक ग्यारेन्टी पेश गर्नुपर्ने उल्लेख छ।
समितिले मेला सञ्चालनका क्रममा जुवा-तास लगायत कानुनविपरीतका गतिविधि सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ। साथै मेलामा कुनै प्रकारको दुर्घटना वा अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदार पक्षकै हुने सूचनामा जनाइएको छ।
यसअघि मेला सञ्चालनको विषयमा पारदर्शिता नअपनाइएको, सीमितका व्यक्तिलाई लाभ पुग्ने गरी प्रक्रिया अघि बढाइएको तथा खुला प्रतिस्पर्धा नगरिएको स्थानीयहरूले आरोप लगाएका थिए। सोही विषयलाई सुदूरपत्र अनलाइनले प्रमुखताका साथ समाचार बनाएपछि समितिमाथि दबाब बढेको स्थानीयको भनाइ छ। त्यसपछि समितिले सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत मेला सञ्चालनको प्रक्रिया थालेको छ।
खोलिएको सूचना :-
