धनगढी, २९ वैशाख / नेपाली कांग्रेसका युवा नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ ले कैलाली निर्वाचन क्षेत्र नम्बर–४ का बहुप्रतीक्षित विकास योजनालाई आगामी आर्थिक वर्षको सुदूरपश्चिम प्रदेश बजेटमा समेट्न प्रदेश सरकारसँग आग्रह गरेका छन्।
मंगलबार नेता आनन्दसहितको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, राज्यमन्त्री प्रकाशबहादुर बम तथा सामाजिक विकास मन्त्री मेघराज खड्का सँग भेट गर्दै कैलाली–४ का विकास प्राथमिकताबारे ध्यानाकर्षण गराएका हुन्। टोलीमा कैलाली क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ललित रोकाया “वसन्त”, प्रदेश सभा सदस्य तुलसी देवकोटा, क्षेत्रीय सचिव विष्णुप्रसाद भाट, गौरीगंगा नगर
सभापति पहलविक्रम चन्द, प्रदेश “क” सभापति काशीराम शर्मा तथा युवा नेता छत्रबहादुर बम सहभागी थिए।
भेटका क्रममा विशेषगरी कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा वर्षभरि सहज यातायात सञ्चालन हुने सडक निर्माणलाई प्राथमिकतामा राख्न माग गरिएको थियो। वर्षौंदेखि सडक सञ्जालको अभाव र वर्षायाममा हुने यातायात अवरोधका कारण स्थानीयले भोग्दै आएको समस्या समाधान गर्न प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्नेमा टोलीले जोड दिएको थियो।
त्यसैगरी आधुनिक कृषि प्रणाली विकास, सिँचाइ विस्तार, कृषि अनुदान, उत्पादन वृद्धि तथा बजार व्यवस्थापनका योजनामा लगानी बढाउन आग्रह गरिएको छ। जोखिमयुक्त ग्रामीण बस्तीमा तटबन्ध निर्माण, स्वास्थ्य सेवाको पहुँच विस्तार, विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षा तथा युवालाई स्वरोजगार बनाउने कार्यक्रम आगामी बजेटमा समेट्नुपर्ने विषय पनि टोलीले उठाएको थियो।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आनन्दले निर्वाचनको परिणामभन्दा जनतासँग गरिएका प्रतिबद्धता महत्वपूर्ण हुने बताएका छन्। “निर्वाचनमा जित–हार प्राविधिक कुरा हुन्, तर जनतासँग बोलेका कुरा पूरा गर्न पहल गर्नु राजनीतिक जिम्मेवारी हो,” उनले भने, “कैलाली–४ का नागरिकले अपेक्षा गरेका विकास योजनालाई प्रदेश सरकारको आगामी बजेटमा समेट्न आग्रह गरेका छौं।”
उनले सुदूरपश्चिम प्रदेश सरकार कैलालीका दुर्गम चुरे र मोहन्याल क्षेत्रको विकासप्रति सकारात्मक देखिएको अनुभूति भएको उल्लेख गर्दै आगामी बजेट जनताको आवश्यकता केन्द्रित हुने विश्वास व्यक्त गरे। प्रदेश सरकारसँगको यो भेटलाई क्षेत्रीय विकासका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। स्थानीय तहदेखि प्रदेश सरकारसम्म समन्वय गरेर पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमार्फत कैलाली–४ लाई नमुना क्षेत्र बनाउने लक्ष्यसहित पहल जारी रहने टोलीले जनाएको छ।