धनगढी , २९ वैशाख / शिक्षासँगै संस्कार, विज्ञान, प्रविधि र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको वेद र विज्ञानको समन्वयकारी शैक्षिक संस्था “चैतन्य पाठशाला” ले कक्षा ११ मा अध्ययन गर्न चाहने एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएका तथा विभिन्न क्षेत्रमा क्षमता प्रदर्शन गरेका विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरिने भएको हो । विद्यालयले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै प्रतिभावान तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ ।
सूचनाअनुसार प्रवेश परीक्षाको आधारमा २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ । यस्तै, सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट दुई-दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने व्यवस्था गरिएको छ ।
त्यसैगरी “अपि प्रोजेक्ट” अन्तर्गत एक जना छात्र र एक जना छात्रालाई व्यवस्थापन संकायमा आवासीय सुविधा सहित पूर्ण छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । विद्यालयले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, कम्प्युटर तथा होटल म्यानेजमेन्ट संकाय सञ्चालन गरिरहेको छ पाठशालाका प्रवन्ध निर्देशक गणेश प्रसाद जोशीले पत्जारकार सम्मेलन मार्फत जानकारी दिए।
विद्यालयले छात्रवृत्ति छनोटका लागि एसईई नतिजा, प्रवेश परीक्षा तथा अन्तर्वार्तालाई आधार बनाउने जनाएको छ । साथै विभिन्न क्षेत्रमा विशेष उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ ।
विद्यालयका अनुसार जिल्ला स्तरीय वा राष्ट्रियस्तरमा खेलकुद, विज्ञान लगायत विभिन्न प्रतियोगिता, कला, संगीत, नृत्य, नेतृत्व विकास, वक्तृत्वकला तथा उद्यमशीलताजस्ता क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीले छात्रवृत्तिमा विशेष प्राथमिकता पाउनेछन् ।
चैतन्य पाठशालाले आधुनिक कम्प्युटर प्रयोगशाला, व्यवस्थित पुस्तकालय, अनुशासित शैक्षिक वातावरण, जीवनोपयोगी शिक्षामा जोड, दक्ष तथा समर्पित शिक्षकद्वारा अध्यापन, आधुनिक प्रविधिमैत्री कक्षा, जीवन उपयोगी कार्यक्रम, स्मार्ट बोर्ड, स्केटिङ पार्क, स्विमिङ पुल, फुटसल लगायतका पूर्वाधारलाई आफ्नो विशेषता रूपमा प्रस्तुत गरेको छ ।
विद्यालयले छात्रवृत्ति फारम वितरणको अन्तिम मिति २०८३ जेठ २१ गतेसम्म तोकेको छ भने आवेदन दिने अन्तिम मिति जेठ ०५ गते उल्लेख गरिएको छ । छात्रवृत्ति परीक्षा जेठ ०७ गते बिहान ११ बजे सञ्चालन हुने जनाइएको छ ।
आवेदन दिन इच्छुक विद्यार्थीले निवेदन पत्र, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, एसईई नतिजा वा मार्कसिट, सम्बन्धित उपलब्धिको प्रमाणपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्ने विद्यालयले जनाएको छ ।
विद्यालय प्रशासनका अनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छात्रवृत्ति छनोट प्रक्रिया अगाडि बढाइनेछ ।