धनगढी, २५ वैशाख/ कैलाली उसु संघको आयोजनामा उसु खेल सम्बन्धी डिप्लोमा तथा निर्णायक रेफ्री रिफ्रेसर तालिम सञ्चालन गरिएको छ । तालिममा थाउलु विधा अन्तर्गत हातहतियार तथा डेमोन्स्ट्रेशनसँगै सान्धा सान्सौ खेलका नियम, प्रतिस्पर्धा सञ्चालन विधि र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्णायकको भूमिका सम्बन्धी प्रशिक्षण दिइएको कैलाली उसु संघका अध्यक्ष राजिव गुप्ताले जानकारी दिएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने तथा दक्ष रेफ्री तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले बताएको छ । हाल सञ्चालन भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्ला तथा प्रदेश हुँदै राष्ट्रिय स्तरमा सहभागिता जनाउने खेलाडीलाई लक्षित गरी तालिम आयोजना गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रममा बिशिष्ठ अतिथी नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा र उसु संघका केन्द्रीय सदस्य दीनेशराज भट्ट रहेका थिए । कैलाली उसु संघका अध्यक्ष राजिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रतन खातीले गरेका थिए ।