धनगढी , २६ वैशाख / नेपाली कांग्रेसको सुदूरपश्चिम भेलामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्जनसहित पार्टी नेतृत्वलाई जवाफ मागेका छन्। आफ्ना शब्दरुपी बाणमार्फत उनले पार्टी सभापति गगन थापा लगायत शीर्ष नेतामाथि नै तीखा प्रश्न उठाएका हुन्।
भेलालाई सम्बोधन गर्दै शाहले आदरणीय नेता शेरबहादुर देउवा लाई टिकट नदिइएको प्रसङ्ग उठाउँदै प्रश्न गरे, “किन शेरबहादुर देउवालाई टिकट दिइएन ? शेरबहादुर देउवा र आरजु राणा देउवा माथि भएको प्रहार स्वाभाविक थियो कि थिएन ? अनि कांग्रेस सभापति गगन थापा नै हार्नु स्वाभाविक थियो कि थिएन ? यी प्रश्नहरूको जवाफ चाहिन्छ।”
उनले पार्टीभित्र देखिएको आन्तरिक विभाजन र गुटगत प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै आफू सधैं एकीकृत कांग्रेसको पक्षमा रहेको बताए। “म चाहन्छु सिंगो कांग्रेस एक बनोस्। सिंगो कांग्रेसको सभापति गगन थापा बनून् भन्ने चाहना राखेर नै म यो भेलामा उपस्थित भएको हुँ,” उनले भने।
मुख्यमन्त्री शाहले कांग्रेसको केन्द्रीय समितिभित्र अहिले पनि ‘मण्डले प्रवृत्ति’ हावी रहेको टिप्पणी गर्दै पार्टी नेतृत्वलाई सचेतसमेत गराए। उनले पार्टीभित्रको घेराबन्दी र शक्ति संघर्षले कांग्रेस कमजोर बन्न सक्ने संकेत गर्दै समयमै सचेत हुन आग्रह गरे।
