धनगढी , ६ वैशाख / कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य डा। आनन्दबहादुर चन्द र क्षेत्र नं. २ का सांसद केपी खनालले समग्र सुदूरपश्चिम प्रदेशको समुन्नत विकासका लागि बहुआयामिक पहललाई तीव्रता दिएका छन्। दुवै सांसदले संयुक्त रूपमा सार्वजनिक गरेको जानकारी अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, सडक तथा खेलकुद पूर्वाधारका समस्याहरू समाधान गर्न सरोकारवाला निकायसँग निरन्तर समन्वय र दबाब सिर्जना गर्दै आएका छन्।
गेटास्थित शहीद दशरथ चन्द चिकित्सा विश्वविद्यालय सञ्चालनको प्रक्रिया सकारात्मक दिशामा अघि बढेको जनाइएको छ। यसलाई सुदूरपश्चिमकै ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ। यस्तै, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति अन्तर्गत नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ भने लिफ्ट जडानका कारण देखिएको ढिलाइ छिट्टै समाधान हुने बताइएको छ।
चिकित्सक अभाव र उपकरण व्यवस्थापन सुधार गर्न पनि पहल जारी रहेको सांसदद्वयले बताएका छन्। लामो समयदेखि अलपत्र रहेको बेहडाबाबा जाने शिवगंगा नदीको पुल निर्माणका लागि पुरानो ठेक्का रद्द गरी नयाँ प्रक्रिया सुरु गरिएको छ।
२५ घर-कोइलही ताल सडकमा भएको ढिलासुस्तीप्रति गम्भीर चासो व्यक्त गर्दै ठेकेदारलाई कडा निर्देशन दिइएको जनाइएको छ। फूलबारी खानेपानी आयोजनाअन्तर्गत वडा नं. १९ मा काम अन्तिम चरणमा पुगेको र वैशाख २० भित्र पानी वितरण सुरु गर्ने लक्ष्य राखिएको छ भने वडा नं. १४ र अन्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि निरन्तर पहल भइरहेको छ।
वडा नं. १३ मा खानेपानी ट्यांकी निर्माण सुरु भइसकेको छ भने खुटिया सिँचाइ आयोजनाको प्राविधिक निरीक्षण सम्पन्न भई चालु आर्थिक वर्षमै बजेट विनियोजनको प्रक्रिया अघि बढिरहेको छ।
सडक पूर्वाधार विकासअन्तर्गत विभिन्न स्थानमा निर्माण तथा स्तरोन्नतिको काम जारी रहेको र आगामी वर्ष उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि संघीय बजेटसँगै अन्तर्राष्ट्रिय लगानीको विकल्पमा समेत छलफल भइरहेको छ।
त्यसैगरी, सिकेल सेल एनिमिया नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रभावकारी कार्यक्रममार्फत सकारात्मक परिणाम ल्याउने लक्ष्य लिइएको छ। सांसदद्वयले यी सबै प्रयासलाई साझा अभियानका रूपमा उल्लेख गर्दै सुदूरपश्चिमको विकासका लागि जनसहभागिता, सुझाव र सहकार्य आवश्यक रहेको बताएका छन्। साथै जनविश्वासलाई सम्मान गर्दै अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।