धनगढी – कैलालीका १०० युवा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार रोशन शाहीले चुनावी अभियानलाई तीव्रता दिएका छन्। आज एक कार्यक्रमकाबीच उनले १०० जना युवालाई राप्रपामा प्रवेश गराएका हुन्।
प्रवेश पाउने युवाहरूमा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरू रहेको आयोजकले जनाएको छ। उनीहरूले राप्रपाको नीति, सिद्धान्त र उम्मेदवार शाहीको विकासप्रतिको सोचबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन्।
प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शाहीले कैलाली–५ मा समृद्धि, सुशासन र राष्ट्रिय स्वाभिमानका पक्षमा चुनावी माहोल बन्दै गएको दाबी गरे। उनले भने, ‘युवाहरूको यो सहभागिताले परिवर्तनको हुरी आएको संकेत गर्छ। हामी विकास र रोजगारीको ठोस योजनासहित जनतामाझ पुगेका छौं।’
राप्रपाको चुनावी रणनीतिअनुसार कैलाली–५ मा शाहीले आफूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गराउन सक्रियता बढाएका छन्। युवा नेतृत्वलाई पार्टीमा भित्र्याउँदै उनले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने लक्ष्य रहेको जनाएका छन्।
