धनगढी, ५ पुस / मधेस प्रदेशको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनका अवसरमा अपाङ्गता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका नन्दराज भट्ट लाई उत्कृष्ट युवा पुरस्कार २०२५ बाट स्वर्ण पदकसहित सम्मान गरिएको छ।
जन्मजातै अपाङ्ग रहेका भट्टले अपाङ्गतालाई कमजोरी होइन, समाज परिवर्तनको शक्ति बनाउँदै निरन्तर योगदान पुर्याउँदै आएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र सशक्तीकरणका लागि उनले गरेका संघर्ष र सेवाको कदर गर्दै नेपाल जेसिजले उनलाई राष्ट्रिय स्तरको यो सम्मान प्रदान गरेको हो।
जनकपुरमा आयोजित महाधिवेशनमा देशभरका जेसिज प्रतिनिधिहरूको उपस्थितिमा भट्टलाई सम्मान गरिएको थियो। कार्यक्रमका वक्ताहरूले भट्टको जीवन संघर्ष, आत्मविश्वास र निरन्तरताले आजका युवाहरूलाई प्रेरणा दिएको उल्लेख गरे।
उक्त महाधिवेशनअन्तर्गत विभिन्न विधामा १० उत्कृष्ट युवाहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा सामाजिक न्याय र सशक्तीकरणको क्षेत्रमा योगदान पुर्याउने अन्य व्यक्तित्वहरू पनि सम्मानित भएका छन्।
नेपाल जेसिजले युवाहरूलाई नेतृत्व, सेवा र सामाजिक उत्तरदायित्व तर्फ प्रेरित गर्ने उद्देश्यले राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्दै आएको छ।
भट्टले आफूलाई सिफारिस गर्ने जेसिस फुलबारी शाखालाई धन्यवाद ज्ञापन गरेका छन्।