कैलाली, ४ पुस / नेपाली कांग्रेस कैलालीको नियमित बैठक पार्टी कार्यालयमा सम्पन्न भएको छ। कांग्रेस कैलालीका अध्यक्ष नारायण दत्त भट्टको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका विषयमा विशेष छलफल गरिएको छ।
बैठकपछि जानकारी दिँदै कांग्रेस कैलालीका सचिव नृप बहादुर सुनारले महाधिवेशनसँग सम्बन्धित विभिन्न एजेन्डामाथि गहन छलफल भएको बताए। उनका अनुसार बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनसँगै समसामयिक राजनीतिक विषयहरूमा पनि विचार–विमर्श गरिएको छ।
कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले क्रियाशील सदस्यता नवीकरण र नवीकरण भइसकेका सदस्यहरूको फारम रुजु गर्नुपर्ने विषयमा बैठकको ध्यान केन्द्रित भएको जानकारी दिए। सदस्यता व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउनेतर्फ पार्टीले जोड दिएको उनको भनाइ छ।
त्यसैगरी, बैठकमा आगामी राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा पनि आन्तरिक छलफल भएको सचिव सुनारले जानकारी दिए। पार्टीको संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे बैठकमा प्रारम्भिक छलफल गरिएको जनाइएको छ।