धनगढी, ४ पुस / वातावरण संरक्षणसँगै समुदायको दिगो विकास र जोखिम न्यूनीकरणलाई केन्द्रमा राख्दै कैलालीका पाँच स्थानीय तहमा प्रकृतिमा आधारित समाधान कार्यक्रम सञ्चालन भइरहेको छ। घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, मोहन्याल गाउँपालिका र कैलारी गाउँपालिकामा कार्यक्रम लागू गरी विभिन्न गतिविधि अघि बढाइएको कार्यक्रम संयोजक गौरीलाल बुढाथोकीले जानकारी दिए।
धनगढीमा आयोजित अन्तरक्रिया तथा प्रस्तुतीकरण कार्यक्रममा प्रकृतिमा आधारित समाधानसम्बन्धी विशेष अध्ययन प्रस्तुत गरिएको थियो। उक्त अध्ययनको प्रस्तुतीकरण पंकज कुमार दासले गर्दै प्राकृतिक स्रोतको संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र समुदायको सहनशीलता बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उक्त कार्यक्रममा स्थलगत अध्ययनका थप अरु दुई प्रस्तुतिकरण प्रस्तुत गरिएका थिए।
विश्व वन्यजन्तु कोष, रेडक्रस अन्तर्राष्ट्रिय महासङ्घ, नेपाल रेडक्रस सोसाइटी तथा सहमति संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको सहमति परियोजना संयोजक शिव सुवेदीले जानकारी दिए। उनका अनुसार परियोजनाले स्थानीय तहसँग सहकार्य गर्दै प्रकृतिसँग मिलेर समाधान खोज्ने अभ्यासलाई प्राथमिकतामा राखेको छ।
कार्यक्रममा परियोजना सञ्चालन भइरहेका स्थानीय तहका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय आवश्यकता अनुसार प्रकृतिमा आधारित समाधानलाई अझ प्रभावकारी बनाउने विषयका सुझाव सहित कार्यक्रम सम्पन्न गरिएको कैलाली जिल्ला रेडक्रसका प्रतिनिधि उद्धव नेपालले बताए।