धनगढी, २६ मंसिर / प्याब्सन कैलाली जिल्ला कार्य समितिको आयोजनामा अन्तर–विद्यालय स्तरीय चैतन्य पाठशाला प्याब्सन कैलाली क्रिकेट कप–२०८२ मंसिर २७ गतेदेखि पुस १ गतेसम्म धनगढी–३, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। विद्यालयस्तरबाटै खेल प्रतिभा पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगितामा कैलाली जिल्लाभित्रका प्याब्सनमा आवद्ध स्थानीय तहका उत्कृष्ट निजी विद्यालयहरूको सहभागिता रहनेछ।
“खेलकुदलाई विद्यालयस्तरबाटै विकास गरौँ” भन्ने मूल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता खेलकुदमार्फत स्वास्थ्य सुदृढीकरण, समाजमा सकारात्मक ऊर्जा, र सुदूरपश्चिमलाई क्रिकेटको माध्यमबाट राष्ट्रिय पहिचान दिलाउने अभियान भएको आयोजक संस्थाले जनाएको छ। यस वर्षदेखि सुरु भएको यो कपलाई विद्यालयस्तरीय उत्कृष्ट प्रतियोगिताका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
प्रतियोगितामा विजेता टोलीले नगद रु ६५, हजार १ सय ११, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ३५ हजार ,१ सय ११, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्।
यससँगै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु ७ हजार उत्कृष्ट ब्याट्सम्यान र बलरलाई रु ५ / ५ हजार , मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याचले रु १,हजार र आकर्षक ट्रफी प्राप्त गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिए।।
विद्यालयमा लुकेर रहेका क्रिकेट प्रतिभालाई बाहिर ल्याउने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगितालाई सफल बनाउन आयोजक प्याब्सन कैलालीले स्थानीय निकाय, अभिभावक, विद्यालयहरू, खेलप्रेमी तथा सरोकारवालाहरूको सक्रिय सहयोगको अपेक्षा गरेको छ।
प्रतियोगितामा धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी, टिकापुर, लम्कीचुहा नगरपालिका र जोशीपुर गाउँपालिकाको निजी विद्यालय मध्येको उत्कृष्ट एक-एक विद्यालयको सहभागिता रहेको छ।
साथै पत्रकार सम्मेलन मार्फत ट्रफी अनावरण र टाई सिट सार्वजनिक समेत गरिएको थियो।