धनगढी, २ चैत। धनगढीमा विश्व उपभोक्ता अधिकार संरक्षण दिवस विविध कार्यक्रम गरी मनाइएको छ। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीको संयुक्त आयोजनामा उपभोक्ताका हक, कानुनी व्यवस्था र वस्तु तथा सेवाका गुणस्तरबारे छलफल गरिएको थियो।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, उद्योग वाणिज्य महासङ्घका प्रदेश समितिका पदाधिकारी मेघराज दाहाल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख सुरेशप्रसाद जैसी, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक सत्यराज जोशी, उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश सचिव भोजराज जोशी, पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह र पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपभोक्ताका हक अधिकार, सम्बन्धित संवैधानिक र कानुनी व्यवस्था, उत्पादन तथा सेवा प्रदायकहरूको दायित्व, खरिद गरिएको वस्तु फिर्ता गर्न सकिने व्यवस्था लगायतका विषयमा छलफल गरिएको थियो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सुरेशप्रसाद जैसीले उपभोग गरिएका वस्तु चित्त नबुझे सात दिनभित्र फिर्ता गर्न सकिने कानुनी व्यवस्था रहेको जानकारी गराएका छन्। साथै, उपभोक्ता हित संरक्षण मञ्चका सुदूरपश्चिम प्रदेश सचिव भोजराज जोशीले वस्तु खरिद गर्दा प्याकिङ मूल्य, गुणस्तर र म्याद जस्ता पक्षमा उपभोक्ताहरू सचेत हुनुपर्ने बताए।
“उपभोक्ता अधिकार सुनिश्चित गर्न सरकार गम्भीर भएको र बेला बेला अनुगम गरिरहेको सचिव प्रमोद भट्टराईले बताए । उनले भने ,“उपभोक्ता अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ। हामीले गुणस्तरीय वस्तु तथा सेवाका लागि कडाइ गरिरहेका छौँ।“
यसबारे उपभोक्ता आफैले पनि सचेत रहनु पर्ने प्रजिअ गोगनबहादुर हमालले बताए । उने भने , “उपभोक्ताले पनि कानुनी रूपमा प्राप्त हुने अधिकारबारे बुझ्नुपर्छ। उपभोक्ता ठगिने अवस्थालाई नियन्त्रण गर्न हामी सचेत छौँ।“ कार्यक्रममा सहभागी वक्ताहरूले उपभोक्ताको हित संरक्षणका लागि सरकारी संयन्त्र अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।