बाजुरा,२६ फागुन । बाजुराको सदरमुकाम मार्तडीमा हिमाली बनको दिगो व्यवस्थापन फेयरवाइल्ड प्रमाणीकरण तथा जडीबुटी सङ्कलन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन भएको छ । सामुदायिक बन उपभोक्ता महासङ्घ नेपाल बाजुरा र एन्साब नेपालको आयोजनामा सो तालिमको आयोजना गरिएको हो ।
प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बाजुरा जिल्ला जडीबुटी र बनको धनी जिल्ला भए पनि यसको व्यवस्थापनमा विभिन्न समस्या रहेको बताएका छन् । यो तालिमबाट प्रशिक्षित हुने सहभागी आउँदा दिनहरूमा आ–आफ्नो ठाउँबाट बनजंगल र जडीबुटीको संरक्षणमा टेवा पुग्ने बताएका छन् । कार्यक्रममा बोल्दै समन्वय प्रमुख रोकायाले यो तालिम बाजुरा जिल्लाका लागि महत्पूर्ण रहेको र यो तालिमले बनको दिगो विकासमा थप इँटा थपिने अपेक्षा व्यक्त गरेका छन् ।
चार दिन सम्म हुने सो प्रशिक्षक प्रशिक्षण तालिममा बनको दिगो व्यवस्थापन, फेयरवाइल्ड प्रमाणीकरण तथा बाजुरा जिल्लामा पाइने जडीबुटीको संरक्षण, सङ्कलन र दिगो व्यापार सँग सम्बन्धित रहेर तालिम दिइने प्रशिक्षक चन्द्रिका हुमागाईँले बताएका छन् । त्यसै गरी सामुदायिक बनहरूको लेखा जोखा र कार्यालय व्यवस्थापन लगायतका विषयमा पनि प्रशिक्षण गरिने उनले बताए ।
एन्साव नेपालले प्राकृतिक श्रोतको व्यवस्थापन, गरिबी न्यूनीकरण र जीविकोपार्जन लगायतका कार्यक्रमहरू गर्दै आएको छ । सामुदायिक बन उपभोक्ता समिति जिल्ला समिति बाजुराका अध्यक्ष सिता बरालको अध्यक्षतामा सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।