धनगढी, २६ फागुन / सुदूरपश्चिम सरकारले ल्याउन लागेको कर्मचारी सञ्चालन ऐन विधेयकका विरुद्ध आन्दोलनमा रहेका विद्यार्थीहरूले आवेगमा आएर नेपाली कांग्रेसका हटाएका झण्डा पुनः लगाएका छन्। आइतबार बिहान नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा धनगढीमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले लगाएका झन्डा हटाउने , कुल्चिने ,च्यात्ने कार्य गर्दा तरुण दलले उग्र रुप लिएपछि विद्यार्थीहरू निरिह बन्दै पछाडि सरेका थिए।
झन्डा हटाउने विद्यार्थीहरूमध्ये ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएपछि विद्यार्थीहरूले आत्मआलोचना गर्दै आफूहरू योजनाबद्ध तरिकाले फसेको हुनाले माफी दिन आग्रह गरेका थिए। विद्यार्थीहरूले माफीसँगै आफूहरूले हटाएका झण्डा राति अबेरसम्म जस्ताको त्यस्तै गरी प्रहरी र तरुण दलका कार्यकर्ताको निगरानीमा लगाएका थिए।
विधेयकको आन्दोलनमा आएका आफूहरूलाई योजनाबद्ध तरिकाले फसाइएको विद्यार्थीहरूको भनाइ छ। आफूहरूको हातबाट गल्ती भएकै हो हामीले आत्मालोचना गर्दै सुधार गर्ने प्रयास गरेका छौं भन्दै विद्यार्थीहरू ले माफी मागेका थिए।
माफी दिँदै तरुण दलका नेताहरुले भने विद्यार्थी भाइहरुले कुनै न कुनै पार्टी वा संगठनबाट परिचालित भएका देखिन्छन्। षड्यन्त्रपूर्वक आफूहरूको कार्यक्रमलाई बिथोल्न खोजिएको थियो, तर विद्यार्थीहरुले आत्मालोचना गरे र आफ्नो गल्ती स्वीकार गरेपछि आफूहरुले माफी दिएको समेत बताए।
विद्यार्थीहरूले साँच्चिकै आफू अनुशासित भएर आत्मालोचना गर्दै माफी माग्ने र झण्डा लगाउने काम गरे यसबाट उनीहरूलाई धन्यवादसँगै आफूहरूले छोडिदिएको तरुण दलका कार्यकर्ताहरूको भनाइ रहेको छ।
आफ्नो अधिकार माग्ने बेला अर्काको अधिकारको पनि संरक्षण गर्न सक्नुपर्छ भन्ने आफूहरूले यस घटनाबाट सिकेका विद्यार्थीहरूको निष्कर्ष रहेको थियो।