लवदेव धामी
धनगढी, २४ फागुन / सुदूरपश्चिम सरकारले ल्याएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन सञ्चालन र सेवाशर्त सम्बन्धमा व्यवस्थाको विधेयकले दिन प्रतिदिन समस्या बढाउँदै गएको छ। विधेयकको खारेजीको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिदा आन्दोलनरत विद्यार्थीको मागलाई प्रदेश सरकारले यथोचित ढङ्गबाट मनन नगर्दा अवस्था झन्झन् चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।
पाँच दिनको आन्दोलन पश्चात आज विद्यार्थीहरूले मुख्यमन्त्रीसँग वार्ता गर्न मानेका थिए। वार्ता गर्ने क्रममा मुख्यमन्त्रीले कुनै पनि लिखित सहमति नगर्ने भएपछि विद्यार्थीहरु थप आन्दोलित बनेका छन् । मुख्यमन्त्रीले आफूहरूलाई मौखिक वार्ता गरेर समस्या सुल्झाउने मूर्खतापूर्ण अभिव्यक्ति दिँदा मुख्यमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएको बताए।
मुख्यमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएपछि विद्यार्थीहरूले थप नारा जुलुस सहित आन्दोलन चर्काएका छन्। आन्दोलनमा मुख्यमन्त्री मुर्दाबाद, प्रदेश सरकार मुर्दाबाद, कार्यकर्ता भर्ती गर्ने काम बन्द गर, विधेयक खारेज गर लगायतका नारा लगाउँदै कहिले मुख्यमन्त्री कार्यालय त कहिले प्रदेश सभा अगाडि भेला भइरहेका छन्। आफूहरूको माग सम्बोधन नगर्दासम्म आन्दोलन जारी रहने र यो आन्दोलनले थप उग्र रूप लिने विद्यार्थीहरूले बताए । यसबाट कुनै हानि नोक्सानी केही भएमा यसको जिम्मेवार प्रदेश सरकार र मुख्यमन्त्री हुनेछन् भन्ने पनि विद्यार्थीहरूले चुनौती दिएका छन्।
आन्दोलनमा विगत पाँच दिनदेखि विद्यार्थी अभिभावक र विद्यार्थी संगठनका नेतृत्वहरूको समेत सहभागिता रहेको छ।