धनगढी,१६ फागुन । हेमा श्री फाउन्डेसन नेपालले गौरीगंगा-६, मोया स्थित भैरव प्राथमिक विद्यालयमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा रातो सदन प्रथम, पहेँलो सदन दोस्रो, सेतो सदन तेस्रो तथा निलो सदनले सान्त्वना स्थान हासिल गरेका थिए।
विजयी विद्यार्थीहरूलाई शैक्षिक सामग्री र प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो। समापन समारोहका प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका उप–प्रमुख भोज बहादुर बम रहेका थिए। उनले विद्यार्थीहरूको शैक्षिक तथा बौद्धिक क्षमताको विकासमा यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, आगामी दिनहरूमा विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव समेत दिए।
फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै, आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रहेका वडा अध्यक्ष टेक बहादुर कुँवर ले प्रतियोगितामा सहभागी हुनु नै ठूलो उपलब्धि भएको भन्दै, यस्ता क्रियाकलापले विद्यार्थीहरूलाई ज्ञान अभिवृद्धि गर्न प्रेरित गर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक–अभिभावक संघ अध्यक्ष, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन हेमा श्री फाउन्डेसनका सदस्य सत्यराज जोशीले गरेका थिए। हेमा श्री फाउन्डेसन नेपालले विगतदेखि नै बालबालिकाको संरक्षण र सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ।