धनगढी,१४ फागुन । माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर पुग्नुभएको छ । २०५९ सालमा बेपत्ता हुनुभएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किनुभएको हो ।
देव २२ वर्षअघि १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरूले निर्घात कुटपिट गरेपछि गाउँबाट भागेर भारत पस्नुभएको थियो । “मलाई राम्रोसँग याद छैन, सुराकी कि के गरेको भन्थ्यो, गोकुलेमा बन्द कोठामा कुट्दाकुट्दै मर्यो भनेर छोडेको थियो,” देवले भन्नुभयो, “माओवादी लडाकुको कुटाइले म चल्न सक्ने अवस्थामा थिइन, एक जना माओवादीले मरिसक्यो यसको व्यवस्था भोलि बिहान गरौँला भनेर मलाई त्यही अवस्थामा छोडेर गएका थिए ।”
माओवादीले मरिसक्यो भनेर छोडेका देव चौलानी नदी पार गरी बैतडी हुँदै भारत पुगेको बताउनुहुन्छ । उहाँलाई कहाँबाट कहाँ पुगे भन्ने यकिन छैन । लुकीछिपी भारत पुगेपछि उहाँले भारतका विभिन्न ठाउँमा काम गरेर गुजारा गरेको बताउनुभयो । बजार क्षेत्रमा माओवादी आइहाल्छन् कि भन्ने लागेपछि भारतको सिमलाको विभिन्न गाउँमा लुकेर बसेको धामीले बताउनुभयो । “अहिले पनि देशमा शान्ति भइसक्यो भन्ने कुरा थाहा थिएन । घर आउन मन त लाग्थ्यो तर माओवादीको कुटाइ सम्झिँदा सबै कुरा बिर्सन्थे, त्यहाँ ९सिमला० बस्दा पनि कतै माओवादी आइहाल्छन् कि भनेर बजार जाँदा डर हुन्थ्यो, दुर्गम गाउँमा लुकेरै बसेको थिएँ,” उहाँले भन्नुभयो ।
उहाँको मनमा अहिले पनि माओवादीको त्रास बाँकी नै छ । भारतको सिमलाबाट नेपाल आउन २२ वर्षदेखि हिम्मत जुटाएका देव अहिले छोराको विद्यालय भर्ना नहुने भए पछि जे भए नि सहुला भनेर नेपाल आएको बताउनुहुन्छ । “मलाई नेपालमा युद्ध नै चलिरहेको छ भन्ने लागेको थियो, बाटोमा पनि डर नै थियो, अरूलाई सोध्दै, अनुहार लुकाउँदै घर पुगे, यहाँ पुगेपछि सबैले अब शान्ति भयो अहिले युद्ध छैन भनेपछि बल्ल मन शान्त भयो,” उहाँले भन्नुभयो ।
सिमलामा बस्दै आएका देवले केही वर्षपहिले उतै बिहे गर्नुभएको थियो । उहाँको छोराको उमेर पाँच वर्ष भयो, विद्यालय भर्ना गर्न जन्मदर्ता चाहिने भएपछि उहाँ नेपाल आउनुभएको हो । सिमलामा मजदुरी गर्दै आउनुभएका उहाँलाई अब भारत जानेभन्दा पनि सबैले सहयोग गरे गाउँमै बस्न मन छ । “मलाई यताको बारेमा केही जानकारी छैन । म यताबाट गएको २२र२३ वर्ष भयो, अहिले धेरै फरक छ, सबैले सहयोग गरे यतै बस्ने गरी परिवार नै लिएर आउँछु,” उहाँले भन्नुभयो ।
शैल्यशिखर नगरपालिका–१ का वडाध्यक्ष भरतबहादुर खडायतले पनि देवलाई यतै बस्ने व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । “उहाँले धेरै दुःख पाउनुभएको छ । अब यतै बस्ने व्यवस्था गर्न हामी सबैले सहयोग गर्छौं,” वडाध्यक्ष खडायतले भन्नुभयो । देवका बुवा र एक भाइ कैलाली बसाइँ सरेर गइसकेका छन् । अहिले गाउँमा कान्छा भाइ छन् । अलिकति जमिन पनि छ, यतै बस्छन् भने हामी सबै गाउँले पनि सहयोग गर्न तयार छौँ, देवका छिमेकी परमा खडायतले भन्नुभयो ।
देवकी आमाको पहिले नै मृत्यु भएको र बुवा बहादुर धामी कैलालीमा बस्दै आएको वडाध्यक्ष खडायतले बताउनुभयो । वडा कार्यालयले ४३ वर्षीय देवको जन्मदर्ता बनाइदिएको छ । सोमबार वडा कार्यालयमै देवको २०३८ साल वैशाख १० गतेको जन्मदर्ता गरिएको वडाध्यक्ष खडायतले बताउनुभयो । २२ वर्षपछि पहिलो पटक गाउँ फर्किएका देवलाई गाउँमा जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका छन् । वडा परिवारले पनि देवलाई २२ वर्षसम्म भोगेका अनेकौँ दुःख बिर्सेर नयाँ जीवनको सुरुवात गर्न शुभकामना दिँदै गाउँमै बस्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् ।
देवको जन्मदर्ता गरिएको र नागरिकतालगायत आवश्यक प्रमाणपत्र बनाउन वडा कार्यालयको तर्फबाट सबै सहयोग गर्ने वडाध्यक्ष खडायतले प्रतिबद्धता गर्नुभयो । बेपत्ता देवको परिवारले राज्यबाट अहिलेसम्म कुनै सहयोग नपाएको वडाध्यक्ष खडायतले बताउनुभयो ।