धनगढी,१३ फागुन । धनगढीस्थित ग्यालेक्सी मल्टिपल कलेजले व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि दोस्रो संस्करणको बिजनेस क्विज प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूले अध्ययन गरेका विषयहरूको व्यावहारिक पक्षलाई परीक्षण गर्नु रहेको कलेजका क्याम्पस प्रमुख जेडी भट्टले बताएका छन् ।
बिजनेस क्विज व्यवस्थापन संकायका विद्यार्थीहरूले अध्ययन गर्ने फाइनान्स, इकोनोमिक्स, एकाउन्ट जस्ता विषयहरूसँग सम्बन्धित रहनेछ। “विद्यार्थीहरूले पढेका कुराहरू व्यवहारिक रूपमा बुझ्न सकेका छन् कि छैनन् भन्ने मूल्यांकन गर्न बिजनेस क्विज आयोजना गरिएको हो। यसले बैंकिङ क्षेत्रको परीक्षा र लोकसेवा तयारीमा समेत मद्दत गर्नेछ,“ प्रमुख भट्टले भने।
प्रतियोगितामा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुनेछन्। प्रतियोगितामा १५ देखि २० टिम सहभागी हुनेछन्। फागुन २० गते हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई ८ हजार, दोस्रो हुनेलाई ६ हजार र तेस्रो हुनेलाई ४ हजार नगद पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताले विद्यार्थीहरूलाई फाइनल परीक्षामा समेत सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।