धनगढी, १२ फागुन । राष्ट्रिय एकता र विकासमा सेनाको भूमिका महत्त्वपूर्ण रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताए । उनले महाशिवरात्रीको अवसरमा सुदूरपश्चिम पृतनाले आयोजना गरेको विविध सैनिक प्रदर्शनी तथा युनिट रन २०८१ कार्यक्रममा उनले उक्त कुरा बताए ।
उनले नेपाली सेना राष्ट्रको गौरवशाली संगठन भएको बताउदै भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौम सत्ता तथा राष्ट्रिय एकताको रक्षा गर्नु यसको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए। उनले भने, “नेपाली सेनाले विकास निर्माण, प्राकृतिक संरक्षण तथा विपद् व्यवस्थापनमा समेत विशेष योगदान दिइरहेको छ।“
मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाले पु¥याएको योगदान विशेष प्रशंसनीय रहेको बताए। प्राकृतिक विपत्तिहरूमा नागरिकको जीवन र धनको रक्षा गर्ने, सडक निर्माण तथा प्रकृति संरक्षणका कार्यहरूमा सेनाको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।
कोभिड–१९ महामारीका क्रममा सेनाले खेलेको भूमिकाको समेत स्मरण गर्दै उनले भने, “महामारीका समयमा सेनाले पु¥याएको सहयोग हामी प्रदेशवासीले अत्यन्त सराहना गर्दछौं।“ साथै, उनले नेपाली सेना सधैं जनताका सुख–दुःखमा साथ रहने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्रीले विविध सैनिक प्रदर्शनी तथा युनिट रन २०८१ ले नेपाली सेना र आम नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।