धनगढी,१० फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आगलागी तथा डढेलो नियन्त्रणका लागि विपद् घटना अभ्यास कार्यक्रम आयोजना गरेको छ । शुक्लाफाँटा नगरपालिकाको आयोजनामा सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम प्राप्त प्रहरी, शुक्लाफाँटा नगरपालिकाको अग्नि नियन्त्रक दल र नगर प्रहरीको सहभागितामा कृत्रिम घटना अभ्यास गरिएको हो ।
शनिवार शुक्लाफाँटा नगरपालिकाको – ८ भमरभजमा गरिएको कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना जोशी,सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्ट, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलका प्रसाद शर्मा, शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर सिंह महरा, वडा नं –७ का अध्यक्ष प्रताप सिंह धामी लगायतका स्थानीयहरूको सहभागिता रहेको थियो ।
हरेक वर्ष वन जङ्गल तथा बस्तीमा हुने आगजनी नियन्त्रण गर्न सहज र सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।