धनगढी, ९ फागुन । लैङ्गिक हिंसा निवारण कोषसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। महिला जागरण तथा विकास केन्द्रको आयोजना तथा दलित महिला अधिकार मञ्च नेपालको संयोजनमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा गोदावरी र धनगढी उपमहानगरपालिकाका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी राना, गोदावरी उपमहानगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, महिला जागरण तथा विकास केन्द्रकी निवर्तमान अध्यक्ष अनिता श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, न्यायक समिति सदस्य प्रा. डा. शशी कुमारी अधिकारी, सुनिता रेग्मी पेखरेल, सावित्रा घिमिरेलगायत व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा लैङ्गिक हिंसा निवारण कोषका नीति, कार्यविधि तथा स्थानीय तहहरूले कोषलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छन् भन्ने विषयमा गहन छलफल भएको थियो। महिला जागरण तथा विकास केन्द्रकी संस्थापक अध्यक्ष शशी कुमारी अधिकारीले महिलाका हक, कानुनी व्यवस्था तथा पीडितले पाउने क्षतिपूर्तिबारे विस्तृत जानकारी दिइन्। साथै, उनले लैङ्गिक हिंसा निवारण कोषको स्थापना, सञ्चालन प्रक्रिया, आर्थिक व्यवस्थापन तथा कार्यान्वयनका चुनौतीबारे जानकारी गराईन् ।
त्यसैगरी, महिला जागरण तथा विकास केन्द्रकी निवर्तमान अध्यक्ष अनिता श्रेष्ठले महिलाको आर्थिक अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिइन्। उनले महिलाको रोजगारीको अधिकार, स्वास्थ्यको अधिकार, आर्थिक तथा पारिवारिक लाभका अधिकार, ग्रामीण महिलालाई विशेष अधिकार तथा महिला श्रमिकहरूको अधिकार संरक्षणसम्बन्धी जानकारी दिएकी थिइन्।
कार्यक्रमका सहभागीहरूले लैङ्गिक हिंसा निवारण तथा पीडित संरक्षणका लागि स्थानीय तहहरूले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। कानुनी संरचना तथा कोषको प्रभावकारी व्यवस्थापनमार्फत हिंसाका घटनाहरू न्यूनीकरण गर्न सकिने निष्कर्ष कार्यक्रमबाट निकालिएको थियो।