धनगढी, २ फागुन / “ज्ञानको उत्सव, सहृदयताको सम्मान” भन्ने मूल भावका साथ चैतन्य पाठशालाले आफ्नो २४औं वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी पूरा गरेको छ। फागुन ३ गते आयोजना हुने यस विशेष अवसरमा शिक्षा, खेलकुद, कला, संस्कृतिसहित समाजसेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याउने २सय भन्दा बढी व्यक्तित्वहरू सम्मानित हुनेछन्।
वार्षिकोत्सवमा आदर्श अभिभावक, आदर्श शिक्षक, आदर्श विद्यार्थी सम्मान प्रदान गरिनुका साथै “शिक्षा साधना सम्मान” अन्तर्गत नगद रु २५, हजार पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, “चैतन्य विशिष्ट खेलकुद प्रतिभा सम्मान” स्वरूप रु ५ हजार राशीको पुरस्कार समेत प्रदान गरिने भएको छ। साथै, कला, संस्कृति तथा साहित्य साधना पुरस्कार अन्तर्गत रु २५ हजार नगद पुरस्कार वितरण गरिनेछ।
यसबाहेक, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिसहित सम्मान गरिनेछ भने दुई सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिनेछ।
सामाजिक उत्तरदायित्वको निरन्तरता
चैतन्य पाठशालाले हिजो वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान, सम्पदा सरसफाइ तथा निःशुल्क स्वास्थ्य परीक्षण (आँखा, दाँत, र अन्य) कार्यक्रम सम्पन्न गर्यो। विद्यालयले यस्ता सामाजिक गतिविधिहरू निरन्तर आयोजना गर्दै आएको छ, जसले विद्यार्थी तथा समुदायमा सकारात्मक चेतनाको विकास गर्ने विश्वास विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले व्यक्त गर्नुभयो।
प्रतिभा प्रस्तुतिका साथ भव्य समापन
वार्षिकोत्सवका अवसरमा विद्यार्थी, वाल कलाकार, अभिभावक तथा शिक्षकहरूले विविध प्रस्तुति दिनेछन्। कार्यक्रमको सफल आयोजनाका लागि सबै अभिभावक, शिक्षाविद्, तथा सामाजिक नेतृत्वलाई आत्मीय निमन्त्रणासहित उपस्थिति जनाउन प्रधानाध्यापक कटकबहादुर सिंहले अनुरोध गर्नुभएको छ।