धनगढी,२ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो स्थानमा उक्लिएको छ। आयोगले आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कन सार्वजनिक गर्दा सुदूरपश्चिमले ५१.६ प्रतिशत अंक प्राप्त गरेको देखिएको छ।
अघिल्लो मूल्याङ्कनमा पाँचौँ स्थानमा रहेको सुदूरपश्चिमले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान सुरक्षित गरेको हो। यसअघि पहिलो स्थानमा रहेको कोशी प्रदेश भने ५०.९ प्रतिशत अंकसहित दोस्रो स्थानमा खुम्चिएको छ।
त्यस्तै, बागमती प्रदेशले ४५.६ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ। कर्णाली ४१.६ प्रतिशतसहित चौथो, गण्डकी ४०.८ प्रतिशतसहित पाँचौँ, लुम्बिनी ३५.९ प्रतिशतसहित छैटौँ स्थानमा रहेका छन्। मधेश प्रदेश भने जम्मा ३० प्रतिशत अंकसहित सबैभन्दा पछाडि परेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक वर्ष प्रदेश सरकारहरूको वित्तीय व्यवस्थापन, स्रोत उपयोग, पारदर्शिता र समग्र कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। आयोगले माघ ३० गते सार्वजनिक गरेको मूल्यांकनमा प्रदेश सरकार तथा स्थानीय तहहरूले प्राप्त गरेको अंक समावेश गरिएको थियो। मूल्यांकनप्रति असन्तुष्टि भए आवश्यक प्रमाणसहित ७ दिनभित्र पुनरावलोकनका लागि उजुरी दिन सकिने आयोगले जनाएको छ।