धनगढी, ०१ फागुन / धनगढीमा अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारका लागि कार्यशाला गोष्ठि गरिएको छ । अपाङ्गता भएका महिलाहरूको महासंघ र कोसिसको सहकार्य तथा युएन ओमेनको आर्थिक सहयोगमा निर्वाचित जनप्रतिनिधि र सरकारी कर्मचारी संगको प्रदेशस्तरीय कार्यशाला गोष्ठी गरिएको जिल्ला परियोजना संयोजक चन्द्रकान्त पनेरुले जानकारी दिए।
“नेपालको सुशासन र विकास प्रक्रियामा अपाङ्गता अधिकार प्रर्वद्धन र समावेशीकरण गर्न , अपाङ्गता भएका ब्यक्तिहरुको संस्थालाई क्षमता विकासमा सहयोग” भन्ने विचारलाई आत्मसाथ गर्दै प्रदेश स्तरीय गोष्ठी गरिएको हो । कैलारी गाउँपालिका, गोदावरी नगरपालिका , दिपायल सिलगढी नगरपालिका, बेलौरी नगरपालिका, बडीमालिका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
उक्त गोष्ठीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुले अपाङ्गता भएका सेवाग्राहीको समस्यालाई कसरी समाधान गर्ने, के कस्ता कार्यक्रम ल्याउने , अपाङ्गता भएका व्यक्तिहरूसँग कसरी सुमधुर सम्बन्ध कायम गर्ने सँगै अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि स्थानीय सरकारले खेल्न सक्ने भूमिकाको बारेमा कार्यक्रममा छलफल गरिएको थियो।

२ दिनसम्म धनगढीमा सञ्चालित उक्त कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको महासङ्घका महासचिव रमा ढकालले गोष्ठीमा सहजकर्ताको भुमिका निर्बाह गर्नु भयो ।
यसैगरी यस गोष्ठीबाट जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूको लागि आगामी दिनमा थप केही कार्य गर्न सक्ने ज्ञान आर्जन भएको बताएका छन्। साथै यस्ता कार्यक्रमहरु स्थानीय तहहरुसम्मै पुर्याउनु पर्ने समेत आवश्यकता महसुस गरेको सहभागीहरूको भनाइ रहेको थियो।