धनगढी,२७ माघ – लागू औषध दुव्र्यसन फस्नु भन्दा अगाडी आफ्ना आमाबुवाको मुहार हेर्न परराष्ट्र मन्त्री आर्जु राणा देउवाआग्रह गरेकी छिन्। नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि लागू औषध दुव्र्यसन गम्भीर समस्या बनेको छ। परराष्ट्र मन्त्री आर्जु राणा देउवाले नेपाल विद्यार्थी सङ्घ, धनगढीद्वारा आयोजित सचेतना र्यालीमा सम्बोधन गर्दै युवाहरुलाई लागू औषधको प्रयोगबाट टाढा रहन आग्रह गरेकी छिन्।
उनले बाल्यकालमै लागू औषधको असर देखेको अनुभव सुनाउँदै भनिन्, “जब म स्कुल पढ्दै थिएँ, लागू औषधको कारणले मेरा तीन जना साथीले ज्यान गुमाएका थिए। अहिले यो समस्या झन् विकराल भएको छ, जसको कारणले मलाई गहिरो चिन्ता र दुख लागेको छ।”
उनले धनगढीका धेरै घरपरिवार यो समस्याबाट प्रभावित भएको बताउँदै युवाहरूलाई लागू औषध प्रयोग नगर्न अनुरोध गरिन्। “पहिलो पटकको सेवनले नै गहिरो असर पार्न सक्छ। एकपटकको लापरवाहीले सिंगो जीवन बर्बाद हुन सक्छ,” उनले भनिन्।
उनले विभिन्न तनाव, जिज्ञासा र दबाबका कारण युवाहरू लागू औषधमा फस्ने गरेको बताउँदै सकारात्मक सोच राख्न आग्रह गरिन्। “सानो कुरामा तनाव लिँदै लागू औषधको सहारा लिनु गलत हो। जीवनमा भएका सकारात्मक पक्षहरू सम्झनुस्, झ्यालबाट निलो आकाश हेर्नुस्, तपाईंलाई शान्ति मिल्नेछ,” उनले भनिन्।
उनले लागू औषधको प्रयोगमा रहेका व्यक्तिहरूलाई सुधार्न सकिने बताउँदै विभिन्न पुनर्स्थापना केन्द्रहरूको महत्वसमेत बताईन् । “एकपटक फसेपछि सुधार हुन सक्दैन भन्ने भ्रम त्याग्नुस्। सुधार संभव छ, प्रयास आवश्यक छ,” उनले जोड दिइन्।
मन्त्री देउवाले लागू औषध दिने व्यक्तिलाई “साथी” नसम्झन पनि आग्रह गरिन्। “जो तपाईंलाई लागू औषध दिन्छ, उसले तपाईंको भलो चाहेको छैन। बरु तपाईंलाई बर्बाद बनाउने प्रयास गर्दैछ,” उनले चेतावनी दिइन्।
