धनगढी,२५ माघ । सुदूरपश्चिम प्रदेशमा एचपीभी खोप अभियान २०८१ अन्तर्गत तीन दिनमै एक लाखभन्दा बढी किशोरीले खोप लगाएका छन्। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार माघ २२ गतेदेखि सुरु भएको अभियानमा हालसम्म १ लाख २ हजार ६२६ किशोरीहरुले खोप लगाइसकेका छन्।
अभियान अन्तर्गत प्रदेशभरका १ लाख ५१ हजार २९१ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। हालसम्मको प्रगति ६८ प्रतिशत पुगेको छ। मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्ध दिइने यो खोप पाठेघरको क्यान्सरजस्ता गम्भीर समस्याबाट बच्न प्रभावकारी हुने विश्वास गरिएको छ।
खोप लगाउने किशोरीको संख्या जिल्लागत रूपमा फरक देखिएको छ। कैलालीमा सबैभन्दा बढी २० हजार ७८५ किशोरीले खोप लगाएका छन् भने कञ्चनपुरमा १९ हजार ७८१ किशोरीले खोप लिएका छन्। डडेलधुरामा भने सबैभन्दा कम ५ हजार ९६८ किशोरीले मात्र खोप लगाएका छन्।
