धनगढी,२४ माघ । कैलालीको जोशीपुरका मंगल बहादुर चौधरीलाई किसान बहुउद्देश्यीय सहकारी संस्थाले ३ लाख ४८ हजार ८६२ सहयोग गरेको छ। मंगलकी पत्नी सहकारी सदस्य मिना चौधरीको मृत्यु भएपछि संस्थाले सदस्य सुरक्षा कोषबाट उक्त रकम हस्तान्तरण गरेको हो।
मिना चौधरी किसान बहुउद्देश्यीय सहकारी संस्थाकी नियमित सदस्य थिइन्। उनले संस्थाबाट ऋण लिएर घरेलु उद्यम सञ्चालन गर्दै आएकी थिइन्। उनको अचानक निधन भएपछि परिवारलाई सहयोग गर्ने उद्देश्यले सहकारी संस्थाले आर्थिक सहायता उपलब्ध गराएको हो।
लम्कीस्थित केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्यहरूलाई आपतविपतमा आर्थिक सहयोग प्रदान गर्दै आएको छ। संस्थाले सदस्यहरूको हितमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र भविष्यमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिने जनाएको छ।
