धनगढी,२३ माघ । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले सुदूरपश्चिममा माओवादी संसदीय दलको नेताको विवाद चाडै टुङ्गोमा लाग्ने बताएका छन् । उनले अहिले पार्टी एक ढिक्का भएकाले चाडै दलको नेताको विवाद टुङ्गो लाग्ने बताएका हुन ।
प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उप–महासचिव पुनले विगतमा देखिएका सानातिना मतभेद छलफलबाटै हल गरिने बताए । ‘अहिले हामीले इन्चार्ज सह इन्चार्जहरुको व्यवस्था गरेका छौ । दल सम्बन्धी समस्या नेताहरू बसेर ओरन्टेसन गर्छौ’ उनले भने ‘खासै समस्या समाधान त यहाँकै दलले नै गर्ने हो ।’ उनले केन्द्रमा छलफल गरेर केन्द्रबाट आवश्यक निर्देशन दिइने बताए ।
यहाँ ठुलो विवाद होइन । तर, यही हल गर्नुपर्ने विषयमा केन्द्रमा पुगेपछि अध्यक्ष र महासचिवले एक किसिमको सर्कुलर जारी गर्नु भएकै हो’ उनले भने ‘तर, त्यो सर्कुलर ठ्याकै लागु भएन ।’ उनले यसको समाधान दल भित्रैबाट हुने भएकाले पार्टीबाट निर्देशन आउँदा केही लम्बिएको बताए । उनले अब पार्टी एकजुट भएकाले अब दलको परामर्श लिएर पार्टीले आवश्यक सुझाव दिएर समस्या समाधान हुने बताए ।
सुदूरपश्चिममा माओवादी केन्द्रको संसदीय दलको नेताको विवाद एक वर्ष देखि कायमै रहेको छ । २०८० माघ १२ गते संसदीय दलको नेताबाट खसराज भट्टलाई हटाएर मानबहादुर धामीलाई चयन गरिएपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि पटक पटक विवाद समाधानका लागि पार्टी अध्यक्ष प्रचण्डले नै अग्रसरता लिए पनि अझै समस्या समाधान हुन सकेको छैन । जसले गर्दा अहिले माओवादी भित्र शक्तिशाली मानिएका नेता खगराज भट्ट भूमिका विहीन बन्न पुगेका छन् ।